…त्यो यात्रा–३

भानू दाहाल –

रातको नौ बजिसकेको थियो ।

थाई इमिग्रेसनको काम सकेपछि सात नम्बर गेटबाट हामी बाहिर निस्क्यौँ । विदेशी पाहुनालाई रिसिभ गर्न नाम लेखिएको पम्प्लेट हातमा लिएर पर्खिनेहरुको लम्बेतान भिड थियो ।

 
आफ्नो नाम लेखिएको पम्प्लेट खोज्न हाम्रा आँखाहरु केहिबेर व्यस्त भए । अलि पर भंगेरा टाउके अक्षरमा मेरो नाम लेखेको पम्प्लेट देखाएर एउटा खिरिलो मान्छे उभिइरहेको थियो ।

थाईल्याण्डमा बस्ने व्यवस्था मिलाउने जिम्मा लिएका थाई नागरिक थोमले मलाई एयरपोर्टमा रिसिभ गर्न उनलाई पठाएका रहेछन् ।

उनको नजिकै पुगेर हात दिदै आफ्नो परिचय दिएँ ।’ उनले अंकमाल गर्दै न्यानो स्वागत गरे । बाहिर मोटर स्ट्याण्डबाई थियो । हामीलाई उनको पिछा गर्न भन्दै मेरो सुटकेश डोर्याएर उनी मोटर तर्फ लागे । यता उनको पनि होटलले पठाएको मान्छेसँग भेट भईसकेको थियो । 

हामी सँगै बाहिर त निस्क्यौँ । तर हाम्रो गन्तव्य अब फरक थियो । उनी एयरपोर्टबाट एक घण्टाको ड्राइभमा पश्चिमतर्फ बैंकक सिटी जानु पर्ने थियो भने हामी दुई घण्टाको ड्राइभमा दक्षिण–पुर्व तर्फ पताया सिटी । 

संयोगले जुराईदिएको एउटा भेट र सँगसँगैको छ घण्टा लामो यात्राले हामी दुवैलाई आत्मिय बनाईसकेको थियो । हामी छुट्टा छुट्टै गन्तव्य तर्फ जाँदै छौँ भन्ने पहिल्यै थाहा भएपनि छुट्टिने वेलामा नरमाईलो लाग्दो रहेछ नै । उनको अनुहारमा पनि दौडिएको वेचैनीलाई म महसुस गरिरहेको थिएँ । 

मैले प्रस्ताव गरेँ, ‘हिड न त मसँगै पताया जाउँ ।’

उनले झट्टै जवाफ दिईन्, ‘होटलको बुकिङ् ट्रान्सफर गराईस्यो न त ।’ उनी म सँग जान राजी थिईन् । तर, होटलको बुकिङ् ट्रान्सफर गर्न सजिलो भने थिएन ।

 

तैपनि एकपटक कोसिस गर्न मन लाग्यो । उनलाई रिसिभ गर्न आएको मान्छेसँग सेल फोन मागेर होटलमा रिक्वेस्ट गरेँ । होटलले मान्नु त परको कुरा, राम्रो सँग कुरा सुन्न पनि चाहेन । पहिला नै रुम चार्ज पे भईसकेको हुँदा उसलाई केही फरक पर्नेवाला थिएन । आँफुलाई घाटा लाग्ने व्यापार कस्ले गर्छ त दुनियाँमा !

 

मेरो केहिवेरको किचकिच सुनेर दिक्क लागेर होला, अन्तिममा तिन दिनको ट्रान्सफर गर्दिन्छु तर एक सय पचास अमेरिकन डलर फाईन लाग्छ भन्यो । जुन दैनिक रुम चार्ज भन्दा महंगो थियो । यता फाईन उता पतायामा फेरी अर्को रुम चार्ज तिर्दा दोहोरो घाटा पर्ने भयो । 

निक्कै बेरको के गर्ने के भन्ने दोधार बिच अन्ततः तिन दिनपछि भेट्ने निधो गरेर हामी छुट्टिने नै भयौँ । छुट्टिनेवेला उनले मेरो दाहिने हात तानेर किस गरिन्, खुसुक्क । मैले दाईहरुले देखेकी भनेर दायाँ वायाँ हेरेँ । कसैले देखे जस्तो लागेन । मैले अंगालोमै बेरेर उनको अधर चुमी दिएँ । मेरो नाक दुई औँलाले च्याप्पै समातेर उनले भनिन्, ‘अत्ति के हजुर त !’
विदाईको हात हल्लाउँदै उनी बैंकक तर्फ लागिन् । हामीहरु पताया तर्फ । 

‘हनिमुन मनाउँन विदेश आएर पनि वेग्लावेग्लै होटलमा बस्ने जोडी पनि देख्न पाईयो ।’ एकजना दाईले जिस्काउन सुरु गर्नुभयो । माहोल अव मलाई जिस्काउने बन्छ भन्ने त मलाई पहिल्यै थाहा थियो ।  

अर्को दाईले थप्नुभयो, ‘एक सय पचास डलरको लोभले पनि उता पठाउने हो त ? सबै खर्च आफैले व्यहोरेर ल्याउँनु पर्ने ठाउँमा जाबो त्यति पैसा पनि नतिरिदिएको ?’ वहाँहरुको जिस्काई त यस्तो लाग्थ्यो कि हामी बिहे गरेर हनिमुन मनाउन नै थाईल्याण्ड आएका थियौँ । 

सडकको मधुरो बत्ति वाहेक बाहिर चकमन्न अध्यारो थियो । मुसलधारे पानी परिरहेको थियो । फराकिलो राजमार्गमा तुफानले हाम्रो मोटर गन्तव्य तर्फ हुईकिएको थियो । त्यति ठुलो हाईवे पनि वानवे जस्तो रहेछ । ट्राफिक संकेतहरु प्रशस्तै, निष्फिक्रि ड्राईभ गर्न कुनै अवरोध थिएन । ठाँउ–ठाँउमा भने सडक प्रयोग गरेवापत पैसा तिर्नुपर्ने रहेछ । सिष्टममा गएर कार्ड घोट्यो, गेट खुल्ने । न त्यँहा कोही मान्छे थियो, न ट्राफिक प्रहरी । 

मोटरभित्र हामी हाँसी मजाक गरिरहेकै थियौँ । हामी हाँसेको देखेर ड्राईभर पनि हाँस्थ्यो । हाम्रो भाषा त उसले बुझ्दैन थियो, तर हाँसोको भाषा त संसारको एउटै हो । उ त्यहि भाषा बुझेर हाँसिरहेको थियो । मैले उसँग केही कुरा गर्न खोजेँ । उ अलिअलि अँग्रेजी त बुझ्दो रहेछ, तर बोल्न नआउने । उसँग थाईल्याण्डको सडक र ट्राफिक सिष्टमको बारेमा जिज्ञाशा मेटाउने मेरो रहर भने पुरा भएन । 
बेलाबेला उनलाई सम्झिरहेकै थिएँ । जीवनका केहि मोडहरुमा केहि त्यस्ता मान्छे भेटिन्छन् जो छोटो भेट मै प्रिय भईदिन्छन् । र, केही त्यस्ता पनि हुन्छन् जो बषौँ भेट भईरहँदा पनि प्रिय लाग्दैनन् । छोटो भेटमा प्रिय लाग्नेहरु जीवनमा फेरी कतै भेटिएनन् भने पनि स्मृतिमा मिठो सम्झना रहिरहन्छ । 

जरुरी छैन भेटिएका सवै प्रिय मान्छेहरु जीवनमा सधै साथै हुनुपर्छ भन्ने । वस् तिनिहरुको अनुहार सम्झिँदा, तिनिहरुसँगको भेट सम्झिँदा आफ्नो अनुहारमा खुसी छाओस्, रोमान्चकता देओस् । यस्ता भेटहरु, यस्ता पलहरु जीवनका सुन्दर मोडहरु हुन् । निराशाका क्षणमा ति स्मृतिले उर्जा भरिदिन्छन् । 

***
छुट्टिएको एक घण्टा वितिसकेको थियो । सायद यतिवेला सम्म उनी होटल पुगिसकेको हुनुपर्छ भन्ने लाग्यो । हाम्रो सम्पर्कको माध्यम मेसेन्जर मात्र हुनेवाला थियो । जुन हामीले अहिले सम्म एक अर्कालाई एड सम्म गरेका थिएनौँ । पक्कै उनले होटल पुगेर टेक्स्ट त गरिन् होला ! तर, म होटल पुग्न अझै आधी बाटो बाँकी नै थियो । 

सन् १९६५ देखी सात बर्ष सम्म चलेको भियतनाम युद्धमा अमेरिकी सैनिकले विदा मनाउँन प्रयोग गरेको समुन्द्रको किनार हो पताया । त्यसपछि क्रमिक रुपमा विकास हुँदै आजको दिन सम्ममा विश्वकै होलिडे मनाउने उत्कृष्ट गन्तव्य बनिसकेको छ । हजारौँ बारहरु, मसाज घरहरु, यौन शोहरु संचालन गरेर व्यस्त यौन उद्योग हुने ठाँउको रुपमा चिरपरिचित छ । सवै खालका मसाज तथा उत्कृष्ट रात्री जीवनको लागी विश्वको ध्यान खिच्न सफल पताया शहर, थाईल्याण्ड आईपुगेको जो कोही एकपटक पुग्न चाहन्छ । हाम्रो त प्रोग्राम नै पतायामा थियो । अन्यत्र भएको भएपनि एकपटक पुगेरै फर्किन्थ्यौँ होला ।


बाहिर पानी पर्न रोकिईसकेको थियो । दिउँसो भएको भए पानी परेपछिको पतायाको सफा आकाश हेर्न पाईन्थ्यो । तर, त्यो मध्ये रातमा मनमनै कुरा खेलाउनु वाहेक अरु विकल्प थिएन । तिन दिनपछि उनलाई पताया बोलाएर थप दुईदिन घुमघाम गर्ने योजना बनाएँ । 

सम्झिएर नै मन रोमान्चित बन्यो । ‘कहो ना प्यार हे’ फिल्ममा ऋतिक रोशन र अमिशा पटेल थाईल्याण्डकै जेम्स् बोण्ड आईल्याण्डको मिराकल ‘बे’को बालुवा माथी ‘कहो ना प्यार हे…’ भन्दै नाचेको झल्झली आँखा अगाडी आईरह्यो । मैले पनि त्यहि गितमा त्यसैगरी नजाने पनि, उनीसँग समुन्द्र किनारमा नाच्ने सपना देख्न थाले ।  

हुन त समुन्द्रको बिच टापुमा उसैगरी कतै हामी हरायौँ भने ऋतिक र अमिशालाई जस्तो लिन हेलिकप्टर पठाउँने राकेश रोशन त हामी सँग थिएनन् तर पनि त्यसैगरी हामी नाच्न उनको आवश्यकता पनि थिएन । जुरेको अवसरलाई आफ्नै लयमा सेलिब्रेट गर्नुको मज्जा पनि अर्कै छ ।   

रातको एघार बजे पताया बे एरियामा अवस्थित हामी बस्ने होटल पुग्यौँ । होटलको लविमै बसेर इन्टरनेट कनेक्ट गरेँ । मेसेन्जरमा भरर्र उनको मेसेज आयो । आँफु बसेको रुमको फोटो समेत पठाएर मलाई मिस गरिरहेको थुप्रै मेसेजहरु पठाएको थिईन् । रुममा पुगेर भिडियो कल गरेँ । लामो यात्राको थकाईले होला कुरा गर्दागर्दै भसुक्कै निदाएछु । 

भोलीपल्ट नौ बजे देखी प्रोग्राम सुरु थियो ।

***

विहान सात बजे उठेर आफ्नै बेडबाट एकघण्टा सम्म धित मरुन्जेलसम्म पहिलो पटक प्रत्यक्ष समुन्द्र हेरेँ । अहो ! कति शान्त, कति विशाल ! माथी निलो आकाश तल निलै समुन्द्र । प्रकृतिको क्यानभासमा कस्तो वेजोड सृजना ! क्षितिजमा डुलिहिड्ने सेतो बादल, सागरमा दौडिरहने सेतै पानीजहाज उस्तैउस्तै लाग्ने । ठुला पानीजहाज देखी स्टिमर सम्मको चहलपहलले समुन्द्र मनमोहक देखिन्थ्यो । अझ समुन्द्रको खास सुन्दरता त साँझ पख हुन्छ, जुन प्रतिक्षाको घडी अझै बाँकी नै थियो । 

बेलुका पाँच बजे अन्तिम सेसन सकिएपछि हामी ‘बिच’ तिर घुम्न निस्क्यौँ । बे एरियाको भन्सार अगाडी ठुल्ठुला कार्गो पानीजहाजहरु आईपुग्ने बेला भएको रहेछ । विहान बिभिन्न समुन्द्री टापुहरुमा घुम्न निस्किएका पर्यटकहरु पनि फर्किएका थिए । समुन्द्र किनारमा पर्यटकको बाक्लै घुईँचो थियो । 

साँझ ढल्किदै थियो, समुन्द्रको आर्कषण झन्झन् बढ्दो थियो । किनारका होटलहरुको रगिंबिरंगि बत्ती, पानीजहाजको ओहोरदोहोर गरेको उज्यालोले समुन्द्र धपक्कै बलेको देखिन्थ्यो । साँझमा पतायाको समुन्द्री तट त विहे घर जस्तो झिलिमिली पो बन्दो रहेछ । साँझमा अझ किनारमा टहलिएका कयौँ जोडीहरुको प्रेमिल आलिंगनले त्यँहा झन् मादकता थपिदिने रहेछ । 

 

हामीले पनि किनारमा बसेर फ्राईड स्न्यापरसँग थाईल्याण्डको चर्चित ‘सिंघा’ वियर चाख्यौँँ । खानपिन र गफगाफले नौ बजिसकेको पत्तै भएनछ । रातीको नौ बजेपछि पतायामा रात्री बार तथा यौन ‘सो’हरु हुने चर्चित ठाँउ ‘वाकिङ् स्ट्रिट’ खुल्छ । पताया ‘बे’को इण्डबाट दक्षिणतर्फ झण्डै एक किलोमिटरको सडक हो वाकिङ् स्ट्रिट । स्ट्रिटको दुवै तर्फ सयौँ गो–गो बारहरु, वियरबार, क्लवहरु, सि फुड रेष्टुरेन्टहरु, लाईभ म्युजिक तथा होटलहरु रहेका छन् । त्यँहा सवारी साधन निषेधित हुन्छ भने स्ट्रिटको दुवै इण्डमा थाई प्रहरी सुरक्षारर्थ बसेको हुन्छ । 

स्ट्रिटमा हिड्दै गर्दा अमेरिका, रसिया, स्पेन, जर्मन, थाई लगायत देशहरुको आफ्नै नामबाट खुलेका क्लव, बारहरु देखिन्छ, जसको अगाडी उभिएर त्यहि देशका सुन्दर युवतीहरुले ग्राहकहरुलाई बोलाई रहेका देखिन्छ । खानपिन, यौन सोहरुको कति पैसा लाग्छ भन्ने मेनु (जसमा युवतीको नाङ्गो फोटो पनि) देखाउँदै ग्रहाकहरुलाई आकर्षित गरेर भित्र छिराउनु उनीहरुको काम हुने रहेछ ।
कोहीकोही त पाखुरामै झुण्डिन सम्म आईपुग्ने । कतिपय चाँही यौन व्यवसायको लागी ग्राहक पर्खिरहेका पनि थिए । लहरै उभिएका युवती देखाउँदै एजेन्टले उनीहरुलाई दिएको नम्बर अनुसार रेट भन्थ्यो । कसैको एक हजार भाट, कसैको पन्ध्र सय भाट त कसैको दुईहजार भाट । त्यो बजार यौन किनवेच कै बजार थियो । चाहना हुनेले पैसा बुझाएर खरिद गर्न सक्थे एक रातको लागी । 
हामी यस्तैयस्तै दृश्यहरुको रमाईलो हेर्दै हिडिरहेका थियौँ । स्पेनको बार अगाडी एकजना गुडिया जस्तो स्पेनी केटी फुत्त मेरो अगाडी आएर बाटो छेकी ।

‘यु आर सो ह्याण्डसम व्यई, वान्ना ह्याभ यु इन माई अपार्टमेन्ट टुनाईट ।’ उसले मेरो आँखामा सिधा हेरेर भनी ।

 
मलाई उसँग जानु त थिएन, तैपनि उसको चार्ज कति हो भनेर सोधेँ । पच्चिस सय भाट उसको रेट रहेछ, तर उसलाई म मन परेको भएर पाँच सय भाट डिस्काउन्ट गरिदिन्छु भनी । उसलाई एकछिन् जिस्काउने सोच आयो ।

मैले अर्को दाईलाई देखाउँदै, ‘म जान्न यो दाई जानुहुन्छ, कति चार्ज लिन्छौ’ भनेँ । होचोहोचो पुटुक्क पेट लागेको दाईलाई नियालेर तल देखी माथी सम्म हेरिसकेपछि भनी, ‘तिन हजार भाट ।’ केटा मान्छेको रुप हेरेर पनि उनीहरुले रेट तोक्ने रहेछन् । एकछिन् दाईको विल्ला हान्यौँ र फेरी हिड्यौँ । हरेक बारहरुको अगाडी यस्तै किस्साहरु भईनैरहे । 

हेर्दै जाँदा ‘पताया पिङ्पङ् सो’ लेखेको एउटा विल्डिङ् अगाडी पुग्यौँ । गेटमा उभिईरहेका युवतीहरु हुरुरु आएर हामीलाई घेरे । हामी सो हेर्न भित्र नगई सुखै भएन । हुन त त्यो सो हेर्न हामी पनि उत्साहित नै थियौँ । 

उनीहरुले हामीलाई भित्र सानो रुममा लगे, जहाँ लकर बक्स राखिएको थियो । हाम्रो क्यामेरा, मोवाईलहरु सबै त्यहि लकरमा राख्न लगाए । क्यामेरा, फोनहरु भित्र लैजान नपाईने रहेछ । त्यसपछि हामी एउटा ठुलो अँध्यारो हलमा छि¥यौँ । केही म्युजिक इन्स्टुमेन्टहरु सहित डान्स पोल भएको ठुलो स्टेज थियो, हलको बिच भागमा । 

दर्शकलाई बस्न वरिपरि बेच्न राखिएको थियो, हल खचाखच भरिएको थियो । केहिबेरमा बडेमानका स्पिकरबाट घर नै भत्केला झै गरेर साउण्ड आउन थाल्यो, सो सुरु भयो । सर्वत्र नाङ्गो शरिरमा केहि युवती स्टेजमा आए । उनीहरुले संवेदनशिल अंगहरुको प्रयोग गरेर देखाएका हर्कतहरु यहाँ उल्लेख नै गरेपनि विश्वास नलाग्न सक्छ । मैले पनि आफ्नै आँखाले प्रत्यक्ष नदेखे सम्म सुनेको भरमा विश्वास गरेको थिईन । 

संसार विचित्र छ । त्यस्ता हर्कत हाम्रो समाजले कल्पना सम्म पनि गरेको छैन, अहिलेसम्म । तर, समय गतिशिल छ, परिर्वतशिल छ, नहोला भन्न सकिन्न । 

एकघण्टा पछि हामी बाहिर निस्क्यौँ । अर्कै ग्रहबाट पृथ्वीमा भर्खरै पर्दापण भएझै लाग्यो । वाकिङ् स्ट्रिटबाट बाहिर निस्किएर टुकटुक चडेर समुन्द्रको किनारै किनार होटल आईपुग्यौँ । 

रातको बाह्र बज्न लागिसकेको थियो । होटलमा छिर्ने वित्तिकै इन्टरनेट कनेक्ट भयो । मेसेन्जरमा भर्रर उनको सयवटा भन्दा बढी मेसेज आईसकेको रहेछ । मसँग कुरा गर्न कुरेर बसेको थिईन् ।

त्यति राती सम्म होटलमा नभएपछि उनको रिसको पारो कति चडेको थियो भन्ने त उनको मेसेज सर्सती पढेरै मैले अनुमान लगाईसकेको थिएँ । 

उनी अनलाईन नै थिईन् । कल गरौँ कि भन्ने त लाग्यो, तर त्यो रिसको वेला उनलाई कल गर्नु भनेको अणु बम विस्फोटन गराउनु भन्दा बढी जोखिमपुर्ण हुन्थ्यो ।  

एकछिनमा उनैले कल गरिन्, उठाउँने हिम्मत पनि आएन । फोन काटेर मेसेज पठाएँ– गाली नगर्ने भएमात्र फोन रिसिभ गर्छु । 

उनले ‘ओके’ भनिन् । फोन रिसिभ गर्ने वित्तिकै सोधिन्, ‘अहिले सम्म कता मुन्टिस्या’थ्यो त ?’

क्रमश… 

-दाहाल समसमयिक विषयमा कलम चलाउँछन्  । कथाको पहिलो र दोस्रो भाग छुटाउनुभएको थियो ? तलको लिंकमा क्लिक गर्नुहोस् । 

दाहालद्वारा लिखित कविता : 

(तस्विर गुगलबाट )​ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?