निक्षेपको व्याजदर तोक्न आजदेखि बैंकहरु स्वतन्त्र, कर्जाको व्याजमा कस्तो पर्ला असर ?

लोकपथ
637
Shares

काठमाडौं । बैकिङ क्षेत्रमा अहिले चाहिने भन्दा बढी अधिक तरलता छ । अधिक तरलता भनेको बैंकिङ क्षेत्रमा चाहिने भन्दा बढी लगानीयोग्य रकम हुनु हो ।

यस्तो रकम दुरुपयोग नहोस भनेर राष्ट्र बैंकले रिर्भस रिपो लगायतका मौंद्रिक उपकरणहरु जारी गरेर बैंकिङ प्रणालीबाट लगानीयोग्य रकम खिचिरहेको छ । तापनि अधिकत तरलता नियन्त्रणमा आईसकेको छैन ।

राष्ट्र बैंकको यसै हप्ता सार्वजनिक गरेको निक्षेप तथा कर्जा सम्वन्धी पछिल्लो विवरण अनुसार अहिले बैंकिङ प्रणालीमा ५७ खर्ब ३० अर्ब रुपैंयाँ निक्षेप रहेको छ भने कर्जा रकम ४८ खर्ब ५३ अर्ब रुपैंयाँ रहेको छ । यो निक्षेप तथा कर्जा रकम मध्ये बाँणिज्य बैंकहरुमा मात्र ५० खर्ब ७३ अर्ब रुपैंयाँ निक्षेप रहेको छ । यो निक्षेप बाँणिज्य बैंकहरुको कुल कर्जा रकम भन्दा सात खर्ब ७९ अर्ब रुपैंयाँले बढी हो । बाँणिज्य बैंकहरुमा अहिले कुल कर्जा रकम ४२ खर्ब ९४ अर्ब रुपैंयाँ रहेको छ ।

यसैगरी बिकास बैंक र फाईनान्स कम्पनीहरुमा भने अहिले कुल निक्षेप छ खर्ब ५७ अर्ब रुपैंयाँ रहेको छ भने कुल कर्जा रकम पाँच खर्ब ५९ अर्ब रुपैंयाँ रहेको छ । अर्थतन्त्रमा आएको सुस्तताको कारण अहिले बैंकिङ क्षेत्रमा नयाँ कर्जाको माग भएको छैन । कर्जाको माग भएको अवस्थामा पनि कर्जा माग गर्ने व्यक्ति वा कम्पनीको सावाँ व्याज तिर्न सक्ने क्षमतामा आर्थिक मन्दीले पारेको असरका कारण कर्जा सुरक्षित नहुने भन्दै बैंकहरुले कर्जा दिन मानिरहेका छैन । आर्थिक बर्ष २०७९–०८० को सकिएको र वित्तीय प्रणालीमा निक्षेप बढेपनि कर्जा बढ्न नसकेका कारण अहिले अधिकतरलता देखिएको हो ।

बैंकिङ क्षेत्रमा देखिएको यही अधिक तरलताको कारण यसअघि बाँणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंर्कस एसोसिएसनले निक्षेपको व्याजदर नबढाउने भद्र सहमती गरेका थिए । तर चालु आर्थिक बर्ष २०८०–०८१ सुरु भएसंगै अर्थात आज साउन १ गते देखि नैं बैंर्कस संघले निक्षेपको व्याजदरलाई खुल्ला छोडिदिएको छ । वित्तीय प्रणालीमा लगानी योग्य रकम बढी भएको अवस्थामा निक्षेपको व्याजदरलाई कसेर राख्नु उपयुक्त नहुने र यसमा सम्वन्धीत बैंकले नैं निर्णय गर्न सक्ने भन्दै बैंर्कस संघले निक्षेपको व्याजदर तोक्न आफ्ना सदस्य बैंकहरुलाई खुल्ला छोडिदिएको हो ।

बैंर्कस संघको सोही निर्णयको कारण साउन एक गते अर्थात आज सोमबारबाट बैंकहरुको निक्षेपको व्याजमा फरक पनि देखिएको छ । सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंकहरु मध्येमा एनएमबी बैंकमा निक्षेपको व्याजदर सबै भन्दा बढी देखिएको छ भने स्टान्र्डड चार्टड बैंकमा निक्षेपको व्याज सबैभन्दा कम देखिएको छ । सो अनुसार एनएमबीले निक्षेपमा १० दशमलव ९८ प्रतिशत व्याज दिंदा स्टान्र्डड चार्टडले आठ दशमलव ९५ प्रतिशत व्याज दिने देखिएको छ । एनएमबी सहित एनआईसी एशिया, प्राईम कर्मसिल, नबिल र कुमारी बैंकमा निक्षेपको व्याज १० प्रतिशतको हाराहारीमा रहेको छ ।

बैंर्कस संंघका अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोवल आईएमई, लक्ष्मी सनराईज, हिमालयन, नेपाल एसबिआई र सिटिजन्स बैंक इन्टरनेशनलमा भने निक्षेपको व्याज नौं प्रतिशतको हाराहारीमा रहेको छ । यसैगरी सानिमा बैंकमा निक्षेपको व्याज नौं दशमलव ५२ प्रतिशत रहेको छ भने कृषि बिकास बैंकमा नौं दशमलव ५१ प्रतिशत रहेको छ । यसैगरी एभरेष्ट, प्रभु र सिद्धार्थ बैंकमा भने निक्षेपको व्याज नौं दशमलव ५० प्रतिशत रहेको छ ।

माछापुच्छे बैंकमा निक्षेपको व्याज नौं प्रतिशत रहेको छ भने राष्ट्रिय बाँणिज्य बैंक र नेपाल बैंकमा निक्षेपको व्याज आठ प्रतिशतको हाराहारीमा रहेको छ । बाँणिज्य बैंकहरुमा निक्षेपको व्याज बढ्दा यसको असर कर्जाको व्याजमा पनि पर्ने देखिएको छ । किनकी कर्जाको व्याजदर तय गर्ने आधार भनेको निक्षेप नैं हो । बैंकहरुले निक्षेपको व्याजदर सार्वजनिक गरे पनि कर्जाको व्याजदर भने औपचारिकरुपमा सार्वजनिक गरिसकेका छैंनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?