के प्रचण्डको उत्तराधिकारी बन्दैछन् विप्लव ? (भिडियाेसहित)

काठमाडौं । खरो क्रान्तिकारी नेता । विचारोत्तेजक वाककला । १० वर्षे माओवादी जनयुद्धको अब्बल कमाण्डर । अनि संसदीय राजनीतिको कट्टर विरोधी । नेपाली राजनीतिक वृत्तमा यिनै विशेषताले चिनिन्छन्, नेत्रविक्रम चन्द (विप्लव) । संसदीय राजनीति र प्रचण्डपथलाई सधैँ घृणाभावले हेर्ने विप्लव अन्ततोगत्वा त्यही बाटोमा समाहित भएका छन् ।

२०३९ सालमा अखिल छैठौंबाट राजनीति शुरु गरेका विप्लवले एकता केन्द्र मसाल, नेकपा माओवादी, नेपाल कम्युनिष्ट पार्टी (विप्लव) हुँदै आजको समाजवादी मोर्चासम्म आइपुग्दा आफूलाई विद्रोही नेताका रुपमा स्थापित गर्दै आए ।

माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वका बेला ललितपुर सेक्रेटरी, कर्णाली उपक्षेत्रीय ब्युरो इञ्चार्ज, रुकुम–रोल्पा ब्यूरो इञ्चार्जको जिम्मेवारी सम्हालेका विप्लव प्रचण्डको विश्वास पात्रका रुपमा चिनिन्थे । अझै कर्णाली क्षेत्रको जिम्मेवारी लिएका बेला प्रहरीबाट थ्री नट थ्री राइफल खोसेपछि विप्लव झनै चर्चामा छाए । जसले प्रचण्डसँगको उनको सामिप्यता अझै बाक्लिँदै गयो ।

यहीक्रममा माओवादी ‘जनयुद्ध’बाट शान्ति प्रक्रियामा आएपछि प्रचण्ड र विप्लवको सम्बन्धमा धमिरा लाग्न थाल्यो । पार्टीभित्र छलफल नै नगरी जनयुद्ध रोकेको र विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको भन्दै विप्लव रुष्ट बने र पार्टीभित्र अन्तरविरोध शुरु गरे ।

जसमा उनीसहित मोहन वैद्य, सीपी गजुरेलले पार्टीको विस्तारित बैठकमा नेतृत्वको खरो विरोध गर्दै आए । र, २०६९ असार ३ गते प्रचण्ड नेतृत्वको माओवादीबाट अलग्गिएर मोहन वैद्यको नेतृत्वमा रामबहादुर थापा(बादल) सहितलाई लिएर विप्लव नयाँ पार्टी गठनमा लागे ।

सोही वर्ष सम्पन्न महाधिवेशनले ‘किरण’ अध्यक्ष, ‘बादल’ महासचिव र विप्लव सचिव भए । र, २०७० सालमा सम्पन्न दोस्रो संविधान सभाको निर्वाचनलाई बहिष्कार गर्ने रणनीति उक्त माओवादीले लियो । जसको नेतेत्व विप्लवले गरे ।

यहीबीचमा विप्लवको वैद्यसँग पनि मतभेद शुरु भयो । उसो त २०७१ साल मंसिर ८ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गठन गरेर महासचिव बने । जसलाई २०७३ सालमा फागुनमा (नेकपा) नामाकरण गरे ।

त्यसपछि लामो समय भूमिगत भएका विप्लव र उनी नेतृत्वको पार्टीलाई २०७५ साल फागुन २८ गते केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिवन्ध लगायो । हिंसात्मक गतिविधि नछोडेको, चन्दा आतंक मच्चाएको र वार्तामा नआएको आरोप लगाउँदै तत्कालिन सरकारले विप्लवलाई प्रतिवन्ध लगाएको थियो । फेरि सोही सरकारले २०७७ साल फागुन २१ गते विप्लवमाथिको प्रतिवन्ध फुकुवा गर्यो ।

आफुलाई क्रान्तिकारी नेताको छबी बनाएका बिप्लवले २०७९ सम्मको निर्वाचन बहिस्कार नै गरिरहे । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसहित केही नयाँ दलको संसदिय राजनीतिमा उदयसँगै झस्किएका विप्लवले नयाँ सिराबाट राजनीति अघि बढाउन खोजेका छन् । र, यतिबेला तिनै विप्लव मुलधारको राजनीतिमा आउनका लागि मोर्चाबन्दीमा समाहित भएका छन् । त्यसो त विप्लवको विगत र वर्तमान राजनीतिक कित्तामा आएको फेरबदलले धेरैलाई चकित बनाउँछ ।

माओवादीले हिंसात्मक द्वन्द्वलाई बिटमार्दै शान्तिपूर्ण राजनीतिलाई अँगालेपछि चिढिएको प्रचण्ड र विप्लवको सुधारिएको सम्बन्ध र सहकार्य अब कस्तो होला त ? प्रश्न आफैँमा अनुत्तरित छ ।

सोमबारमात्र घोषणा भएको समाजवादी मोर्चा अब नेपालको संसदीय राजनीतिमा तेस्रो शक्तिको रुपमा देखा परेको छ । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मिलेर मोर्चा खडा भएको हो । समाजवादी मोर्चा घोषणासँगै यसका घटकहरुले फेरि नेपालमा कम्युनिष्ट विचारधारा बोक्नेहरु एकैठाउँमा गोेलबद्ध भएको जवर्जस्त सन्देश दिन खोजेका छन् ।

तर, ‘कुनैबेला संसद भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो’ भन्ने अभिव्यक्ति दिने विप्लव अब संसदीय राजनीतिमा टिक्लान् कि फेरि विद्रोह गर्लान् ? समयले नै बताउला । हिजो माओवादीलाई धु्रविकरण गराएर प्रचण्डको विरोधमा खनिएका विप्लवले आमजनतालाई के जवाफ देलान् ?

गत मंसिरमा सम्पन्न आम निर्वाचन र द्वन्द्वकालिन मुद्दाका विषयले नागरिक समाजदेखि अदालतसम्म फरक शैलीबाट प्रवेश पाएसँगै नजिकिएको तत्कालिन माओवादी घटक एकतासम्म सबै पुग्ने देखिएको छैन । तर, तत्कालिन माओवादीमा सबैभन्दा क्रान्तिकारी देखिएका विप्लवको प्रचण्डसँगको निकटतालाई अर्थपूर्ण रुपमा हेर्नेहरु धेरै छन् ।

रोचक त के छ भने आफ्नो निर्वाचन क्षेत्र नै प्रचण्डलाई छोडेर चुनाबको समयमा फेरि माओवादी एक बन्छ भन्ने हुँकार दिने बाबुराम भट्टराई मोर्चामा अटाउन नसक्नु र विप्लवको एकाएक संसदिय राजनीतिमा यूटर्नले माओवादीभित्रको आन्तरिक राजनीतिमात्र होइन नेपालको समग्र राजनीति र प्रचण्डको उत्तराधिकारीको विषयमा विभिन्न अड्कलबाजी हुन थालेको छ ।

त्यसो त झण्डै १२ वर्षपछि नयाँ सिराबाट शुरु भएको प्रचण्ड र विप्लवको सुधारिएको सम्बन्धले के अर्थ राख्ला ? अर्थात्, प्रचण्डले विप्लवलाई आफ्नो उत्तराधिकारी बनाउलान् ? त्यसको जवाफ भविष्यले बताउँदै जाला ।

भिडियाे 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?