मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको तयारी गर्न अध्यक्ष थापाको निर्देशन

काठमाडौं । हिन्दु राष्ट्र पुनस्र्थापनाको लागि व्यापक जनदवाव सृजना गर्ने उदेश्य सहित आगामी फागुन १५ देखि ३० गतेसम्म हुन लागेको ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ को तयारी तिव्र रुपमा भइरहेको छ ।

 उक्त यात्रालाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न २१ वटा समितिहरु समेत गठन भैसकेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं स्वाभिमान यात्रा मुल आयोजक समितिका संयोजक कमल थापाको अध्यक्षतामा आज सम्पन्न बैठकले आगामी माघ १५ गते भित्र सबै समितिको बैठक सम्पन्न गरि मूल आयोजक समितिले दिएको कार्ययोजना बमोजिमका कार्य सम्पन्न गर्न निर्देशन दिएको छ ।

बैठकमा अध्यक्ष कमल थापाले यात्रा तयारीको लगि गठन भएका सबै समितिहरुलाई यात्रालाई भव्य बनाउन सम्पूर्ण तयारी पुरा गर्न आग्रह गर्नुभयो । आउँदो माघ २० र २१ गते काठमाडौंमा बस्ने पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा २१ वटै समितिहरुले आफ्नो तयारी प्रतिवेदन पेश गर्न सो बैठकले सम्बन्धित समितिहरुलाई निर्देश गरेको छ । बैठकमा २१ वटै समितिका संयोजक तथा सदस्य सचिबहरुको सहभागिता रहेको थियो ।

उक्त बैठकमा मुल आयोजक समितिका सदस्य सचिब सुशिल श्रेष्ठले ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ को तयारीका लागि गठित विभिन्न समितिहरुले गर्ने कामको बारेमा लिखित विवरण प्रस्तुत गर्नुभएको थियो ।

स्वाभिमान यात्रा तयारीका लागि यसअघि १८ वटा समितिहरु गठन भएका थिए भने आज थप ३ वटा समितिहरु गठन भएका छन् । आज गठन भएका समितिहरुमा केन्द्रीय सदस्य भुवन पाठकको संयोजकत्वमा समान विचारधारा भएका संघसंस्था समन्वय समिति, केन्द्रीय सदस्य एवं मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलको संयोजकत्वमा सञ्चारमाध्यम समन्वय समिति तथा केन्द्रीय सदस्य निना भेटवालको संयोजकत्वमा अनुगमन तथा मूल्याङकन समिति रहेका छन् ।   
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?