वाइडबडी खरिद प्रकरण: अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा छानविन शुरु

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणबारे छानविन शुरु गरेको छ । 

अख्तियार स्रोतका अनुसार नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिद प्रकरणबारे प्रारम्भिक अनुसन्धानबाट उल्टै पश्न उठेपछि विस्तृत अनुसन्धान गर्ने निर्णय अख्तियारले गरेको हो । 

नेपाल वायुसेवा निगमबाट केही फाइल मगाइएको छ । त्यसको अध्ययनपछि खरिद प्रक्रियामा संलग्नमाथि बयानसमेत सुरु हुने अख्तियार उच्च स्रोतले जनाएको छ ।

अख्तियारले इन्जिनियर, कानून र लेखा समूहका अधिकृतको टोली बनाएर वाइडबडी विमान खरिद प्रकरणबारे अनुसन्धान अघि बढाएको छ । 

अनुसन्धानमाथि अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेले प्रत्यक्ष निगरानी गरिरहेको स्रोतले बताएका छन् । 

आयोगको नियमावली २०५९ को नियम १२ मा प्रारम्भिक अनुसन्धानबाट भ्रष्टाचारजन्य कसुर हुने देखिएमा प्रतिवेदनका आधारमा अनुसन्धान अधिकृत तोकी विस्तृत छानबिन गर्ने उल्लेख छ ।

सचिव प्रेम राई सञ्चालक समितिको अध्यक्ष भएका बेला २०७३ साल वैशाख २ गते खरिद प्रक्रिया अघि बढाई उपसमिति गठन गर्ने निर्णय भएको थियो । शंकर अधिकारी सचिव हुँदा ५ वटा निर्णय भएका थिए । 

प्रारम्भिक अनुसन्धानमा केही गम्भीर त्रुटि भेटिएको अख्तियार स्रोतको दाबी छ । 

उडान भर्दाको अधिकतम तौल २४२ टन उल्लेख गरी पछि २३० टनको विमान ल्याइएकामा थप अनुसन्धान हुनुपर्ने औंल्याइएको छ । यो विषयलाई संसद्को सार्वजनिक लेखा समितिले समेत गम्भीर अनियमितता भनेको छ ।

सार्वजनिक लेखा समितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको निष्कर्ष निकालेको छ । उक्त निष्कर्षसहित तत्कालीन र बहालवाला सचिव, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र सञ्चालक समितिका पदाधिकारी तथा खरिद प्रक्रियामा संलग्न अन्य व्यक्तिलाई कारबाहीका लागि निर्देशन दिएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?