एन्फाको ब्रम्हलुट : खेलाडीले १८ हजार पाउँदा पदाधिकारीले लिन्छन् १ लाखबढी पारिश्रमिक

नेपाली फुटबलको बागडोर सम्हालेको अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार आपत्कालीन बैठक बस्यो । त्यो बैठक न फुटबलको उन्नयनका लागि थियो न त खेलाडीको मनोबल बढाउनका लागि थियो त फगत कार्यसमितिको तलब बढाउने । त्यही आपत्कालीन बैठकले २०२३ का लागि बजेटसमेत पारित गर्यो । ६७ करोड ८ लाख १५ हजार २ सय २९ रुपैयाँको बजेट परिमार्जनसहित पारित भएको थियो ।

सोही बैठकले एन्फाका तीन सह–महासचिवलाई मासिक ७५ हजार रुपैयाँ तलब दिने निणर्य गर्यो । जसलाई गुपचुप राख्ने उदेश्यले प्रेस विज्ञप्तिमासमेत समावेश गरिएन । थ्री स्टार क्लबका अध्यक्ष अरुणमान जोशी, दामोदर भट्टराई र वसन्त अर्याल एन्फाका तीन सह–महासचिव हुन् । यी तीनै सह–महासचिव नियुक्तिकै समयमा पनि विवादमा तानिएका थिए ।
अहिले उनीहरुको तलब भत्ता ५० हजारबाट बढाएर ७५ हजार बनाइएपछि आलोचना हुन थालेको छ । नहोस् पनि किन ७५ हजार तलब पाउने सह–महासचिवको एन्फामा जिम्मेवारी भनेको महासचिवको अनुपस्थितिमा उनको स्थान लिनुबाहेक अरुकेही छैन ।

सुशासन र आर्थिक पारदर्शिताको एजेण्डा बोकेर एन्फामा होमिएका वर्तमान नेतृत्व एकपछि अर्को विवादमा तानिँदै गएको छ । बैठक नै आह्वान गर्न नसकेर होस् वा पदाधिकारीको चयन वर्तमान नेतृत्व विभिन्न विवादमा फस्ने गरेको छ । विवादका चाङबाट गुजारिरहेको वर्तमान नेतृत्वले सह–महासचिवको तलब वृद्धिले बलिरहेको आगोमा घ्यू थप्ने काम गरेको छ ।

आर्थिक कारणले बी र सी डिभिजन लिग गर्न नसक्ने एन्फा मनपरी तलब बाँड्दै

एन्फामा कथित आर्थिक समस्या कुनै नौलो कुरा भने होइन । सधैँ पैसा जुटाउन नसकेका कारण लिगहरु आयोजान हुन नसकेका हेडलाइनहरुले स्थान पाउने गरेका छन् । हालै जारी ए डिभिजन लिगको आयोजना गर्न पनि क्लबहरुले निकै हार गुहार गर्नु परेको थियो । लिगका लागि क्लबहरुले पाउनुपर्ने खर्च नै नपाएपछि खेलाडीहरुले खेल नै रोकेको यथार्थपनि जगजायर छ ।

खेलाडीहरुको खाता रित्तै, पदाधिकारीलाई मनमौजी

एक पटक कल्पना गरौँ न, देशको लागि खेल्ने राष्ट्रिय टोलीका खेलाडीहरुले कति तलब पाउँछन् होला ? एन्फा पदाधिकारीहरुले तलब भत्ताका नाममा मोटो रकम डकार्दा नेपाली राष्ट्रिय टोलीका खेलाडीहरुले मासिक १८ हजार रुपैयाँ पाउने गरेका छन् । एन्फामा नियमित काम गर्ने कर्मचारीको तलबभन्दा जिम्मेवारी नै नभएका पदाधिकारीहरुको तलबभत्ता धेरै रहेको छ ।

राष्ट्रिय टोलीका खेलाडीले मासिक १८ हजार तलब पाउँछन् । खेलाडीहरुले यो तलब पनि नपाएको ५ महिना भइसकेको छ । यति मात्रै होइन, २०१९ को दक्षिण एसियाली खेलकुद नेपालले आयोजना गर्यो । जसमा एन्फाले स्वर्ण पदक विजेता खेलाडीहरुलाई पुरस्कारको घोषण गर्यो । जुन खेलाडीहरुले अहिलेसम्म पनि पाएका छैनन् ।

एन्फाले प्रति महिना राष्ट्रिय टीमका २३ जना खेलाडीका लागि १८ हजार प्रतिव्यक्तिका दरले ४ लाख १४ हजार रुपैयाँ तलब खुवाउँछ । त्यसैगरी एन्फाले विभिन्न पदाधिकारीहरुलाई भने निकै मोटो रकम खर्च गर्ने गरेको छ ।
पदाधिकारीहरुका लागि प्रत्येक महिना एन्फाको कोषबाट ६ लाख २९ हजार छुट्टयाइन्छ । जसले देशका लागि खेलेर देशको शिर उच्च बनाएका छन् उनीहरुको व्यवस्थापनका लागि खटिएका यी पदाधिकारीहरुले न त खेलाडीहरु खुशी हुने काम गरेका छन् न त देशको नाम राखेका छन् । बेला–बेला आउने भ्रष्टाचारको काण्ड, लिग गर्न नसकेको लाचारता, एफसीको प्रतिबन्ध जस्ता कुराले अन्तराष्ट्रिय जगतमा नेपाललाई लज्जित बनाउने गरेको छ ।

कुन पदाधिकारीको कति तलब ?

महासचिव : एक लाख २० हजार
सह–महासचिव : ७५ हजार
कोषाध्यक्ष : ९५ हजार
प्रवक्ता : ६२ हजार
सह–कोषाध्यक्ष : ३५ हजार

खेलाडीहरु विदेश पलायन, रमिते बन्दै एन्फा

कोरोनापछिको तथ्यांक केलाउने हो भने नेपाली राष्ट्रिय खेलाडीहरु विदेशिने लर्को नै लागेको देखिन्छ । यसरी दिन प्रतिदिन खेलाडीहरु विदेश पलायन हुँदा पनि एन्फा कसरी खेलाडीहरुलाई रोक्न सकिन्छ भन्दा पनि कसरी केन्द्रीय समितिमा आफ्नो पक्षमा बहुमत बनाउन सकिन्छ मनलाग्दी निर्णयहरु परित गर्न सकिन्छ भन्दै आफ्नो ध्यान केन्द्रित गरेको पाइन्छ ।

एन्फाका उपाध्यक्ष विराटजंग शाही र दीपक खतिवडाले अध्यक्ष पंकज विक्रम नेम्वाङको कार्यशैलीप्रति विरोध जनाउँदै आएका थिए । आफ्नो कार्यशैली बदल्ने भन्दा पनि असन्तुष्ट पदाधिकारीलाई कुनै जिम्मेवारी दिएर आफ्नो कार्यक्षेत्रमा ल्याउन सजिलो देखेका नेम्वाङ सोही योजनामा सफल पनि भएका छन् । नेम्वाङले आपत्कालीन बैठकबाट शाहीलाई ए डिभिजन लिग कमिटीको संयोजक जिम्मेवारी दिएका छन् भने खतिवडाले आपत्कालीन समितिको सदस्यमा मनोनयन भएका छन् ।

यसरी हेर्दा नयाँ कार्यसमितिले चल्दै आएको वेथितीलाई हटाएर नेपाली फुटबललाई नयाँ आयाम दिन निकै नै आवश्यक रहेको छ । व्यक्तिगत फाइदा नहेरी कार्यसमितिले फुटबलको विकाश गर्नेमात्र हो भने नेपाली फुटबलले नयाँ स्वरुप पाउने छ । देशका लागि खेल्ने खेलाडीहरुलाई विदेशीने नियतिलाई यो कार्यसमितिले रोक्न सके यो नेतृत्व केहि हदसम्म सफल हुनसक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?