काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् ।
महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार आजसम्पन्न ५७औँ साधारणसभा मार्फत महासंघको २०औँ अध्यक्षमा ढकाल सर्वसम्मत निर्वाचित भएका हुन् ।
अध्यक्ष शेखर गोल्छामार्फत् ढकालले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथ ग्रहण लगत्तै नवनिर्वाचित अध्यक्ष ढकालले आफूले लामो समयदेखि जारी राखेको सर्वसम्मतीको प्रयास अन्तिममा सफल भएको बताए ।
उनले यसका लागि उमेशलाल श्रेष्ठका साथै पूर्वअध्यक्षहरुको ठूलो भूमिका रहेको भन्दै अध्यक्षका रुपमा महासंघको छवीलाई आगामी दिनमा अझ उँचो बनाउनेमा विश्वास व्यक्त गरे ।
महासंघको नव–निर्वाचित अध्यक्षको रुपमा ढकालले अबको कार्यकालमा पाँच वटा विषयलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने र व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने कामलाई प्राथमिकतामा राखेको उल्लेख गरेका छन् ।
नवनिर्वाचित अध्यक्ष ढकाल पहिलो पुस्ताका सफल उद्यमी(व्यवसायी हुन् । महासंघमा दुई कार्यकाल कार्यकारिणी समिति सदस्य रहेका ढकालले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया