पौवादुङमाका किसानलाई कृषि सामग्री वितरण

लोकपथ
0
Shares

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले तीन सय बढी किसानलाई कृषि सामग्री वितरण गरेको छ ।

गाउँपालिकालाई कृषिमा आत्मानिर्भर बनाउने लक्ष्यले ‘कृषकलाई प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरी उक्त सामाग्री वितरण गरिएको हो । गाउँपालिकाले कृषकसँग आवेदन माग गरी आवेदनका आधारमा सामग्री वितरण गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

कृषकलाई ५० प्रतिशत लागत साझेदारीमा एक लाख ४८ हजार बराबरको २६ थान प्लाष्टिक टनेल, दुई लाख ६० हजार बराबरको ६० थान इलेक्ट्रिक स्पेरियर र १० लाख बराबरको दुई सय ५० थान मल्चिङ प्लाष्टिक वितरण गरेको कृषि शाखा प्रमुख सुदीप मरासैनीले जानकारी दिए ।

गाउँपालिकाले कृषकलाई विभिन्न समयमा बीउबिजन, विषादीलगायत आवश्यक प्राविधिक सहयोग समेत गर्दै आएको उनको भनाइ छ । “हामीले किसानको मागका आधारमा तीन सय बढी कृषकलाई सामग्री हस्तान्तरण गरेका छौँ”, उनले भने, “किसानलाई व्यावसायिक कृषिमा लाग्न प्रोत्साहन गर्न सामग्री वितरण गरेका हौँ ।”

किसानले गरिरहेको व्यावसायका आधारमा उनीहरूलाई आवश्यक कृषि सामाग्री तथा प्रविधिक सहयोग गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए । तरकारी तथा नगदेबालीमा लागेका किसानलाई कृषि सामग्री र कुखुरा, बाख्रा तथा व्यावसायिक बङ्गुरपालन गर्ने किसानलाई सोही अनुसार आवश्यक सामाग्री वितरण गरिएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?