कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण कार्यलाई गाउँपालिकाले प्राथमिकताका साथ अघि बढाएको हो । गाउँपालिकाले दशौँ गाउँसभाबाट स्वीकृत बजेट, नीति तथा कार्यक्रमको कार्यान्वयनमा तदारुकता देखाएको छ ।
पुँजीगततर्फका विकास आयोजनालाई समयमै छिटोछरितो र पारदर्शी रुपमा निर्माण सम्पन्न गर्न अनुगमन तथा मूल्यांकनको कामलाई तीव्रता दिइएको गाउँपालिकाले जनाएको छ । पालिकाले चालू आर्थिक वर्ष २०७९/०८० मा विनियोजित वार्षिक बजेट, नीति तथा कार्यक्रमको कार्यान्वयनमा जोड दिएको हो ।
जनताको नजिकको सरकारको रुपमा रहेको स्थानीय तहले विगत वर्षका अधुरा कामहरुलाई पूर्णता दिने र दीगो विकासका नयाँ आयोजनालाई प्राथमिकताका साथ कार्यान्वयन गर्न तदारुकता देखाएको छ । स्थानीय तहको कार्यसम्पादनमा सुधार ल्याउने गाउँपालिकाको लक्ष्य छ ।
गत फागुन ३ मा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा बर्दगोरियाले ५३.२८ प्रतिशत अंक पाएको थियो । विभिन्न १७ वटा सूचकका आधारमा आयोगले स्थानीय तहले प्राप्त गरेको मूल्यांकनका आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले समानीकरण तथा विषेश अनुदान रकमको बाँडफाँड गर्ने गर्दछ । सोही आधारमा सूचकमा सुधार भए आगामी वर्षको बजेट बढ्न सक्ने प्रक्षेपण गरिएको छ ।
आयोजनाको अनुगमनलाई तीव्रता
गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० मा विनियोजित भई निर्माण भइरहेका आयोजनाको अनुगमनलाई तीव्रता दिएको छ । शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, बिजुली र पर्यटनका क्षेत्रमा लक्ष्यअनुरुप क्रमिक विकास र सुधारलाई प्राथमिकता दिएको हो । राजस्व संकलनलाई छिटोछरितो, सरल र प्रविधिमैत्री बनाउन अनलाइन करदाता पोर्टलको शुरुवात गरिएको छ ।
यस्तै, पालिका अन्तर्गतका सबै वडामा खानेपानीको सुविधा पुर्याउने लक्ष्यसहित विश्व बैंकसँगको सहायतामा गाउँपालिकाले ७० करोडको अनुदान सम्झौता गरेको र यसलाई छिट्टै कार्यान्वयनको चरणमा लैजाने गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले बताए । एन–वास परियोजना अन्तर्गत गाउँपालिकाको वडा नं.१, ३, ४ र ६ मा निर्माणाधीन अधुरा खानेपानी आयोजनालाई पूर्णता दिने र सबै घरधुरीमा आगामी तीन वर्षभित्र शुद्ध खानेपानी विस्तार गरिने अध्यक्ष कुँवरले बताए ।
गाउँपालिकामा सम्झौता भई कार्यान्वयनको चरणमा रहेका आयोजना चालु आर्थिक वर्ष अगावै सम्पन्न गरिने अध्यक्ष कुँवरको भनाइ छ । गाउँपालिकाले बर्दगोरिया सहकारी ऐन २०७४, बर्दगोरिया गाउँपालिकाको स्वास्थ्य सेवा ऐन २०७९, आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७९ गरी तीनवटा ऐन, बर्दगोरिया गाउँपालिकाको स्वास्थ्य सेवा नियमावली २०७९, र ६ वटा कार्यविधि कार्यान्वयनमा ल्याएको छ ।
यस्तै, शैक्षिक विकासका लागि कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरेको छ । स्थानीय पाठ्यक्रम अनुसार स्थानीय पाठ्यपुस्तक लेखन प्रयोजनका लागि पालिकाले विज्ञको सूची (रोष्टर) माग गरेको छ । इतिहास, संस्कृति, भूगोल र सम्भावनासँग परिचित योग्य विज्ञहरुको आवेदनसमेत माग गरेको छ ।
शिक्षा तथा खेलकुदतर्फ ‘हाम्रो विद्यालय, राम्रो विद्यालय’ को अवधारणालाई सार्थक बनाउन पालिकाले शैक्षिक विकास र गुणस्तर सुधारमा विषेश जोड दिएको छ । स्थानीय सरकारले आधारभूत तथा माध्यमिक शिक्षा ऐन, २०७९ स्थानीय राजपत्रमा प्रकाशन गरि कार्यान्वयनमा ल्याएसँगै १७ वटै सामुदायिक विद्यालयमा आधारभूत तथा माध्यमिक तहसम्म निशुल्क तथा अनिवार्य शिक्षाको अवधारणा लागू गरिने भएको छ ।
जसअनुसार स्थानीय शिक्षा ऐन कार्यान्ययन गर्न सबै विद्यालय र सरोकारवाला निकायलाई परिपत्र गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्कीले बताए । यसअघि नै साक्षर पालिका घोषणा भएको गाउँपालिकाले निरक्षरमुक्त गर्ने, विद्यालय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिँदै बर्दगोरिया बहुमुखी कलेज सञ्चालनमा ल्याउने तयारी छ ।
गाउँपालिकाले सबै वडामा आफ्नै कार्यालय भवन निर्माण गरि सेवा दिइरहेको छ । जसमा केही निर्माण सम्पन्न भइसकेका छन् भने केही अन्तिम चरणमा छन् । त्यस्तै, कुल ६१ करोड ७२ लाख ५ हजार ६ सय ११ रुपैयाँमा गाउँपालिकाको मुख्य प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । स्यामसुन्दर कन्सट्रक्सनले २०७६ साउन ५ गतेदेखि निर्माण सम्झौता गरेको भएपनि ठेकेदारको ढिलासुस्तीले काम रोकिएको गाउँपालिकाको प्राविधिक शाखाले जनाएको छ ।
दुई पटकसम्म म्याद थप गरी निर्माण सम्पन्न गर्न ताकेता गरिए पनि योजनाको काम अधुरै भएपछि निर्माण कम्पनिलाई गाउँपालिकाले लागत रकमको दैनिक ०.०५ प्रतिशतले एलडी तोक्दै कारबाहीको दायरामा ल्याएको सव–ईन्जिनियर सुनिल जोशीले बताए । यस्तै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन र जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन ऐलानी/प्रति जग्गाको नाप नक्सांकन, निस्सा वितरण र नापी कार्य भइरहेको छ ।
गत फागुन १ देखि वडा नं. ३ बाट शुरु गरिएको जग्गाको नापीलाई निरन्तरता दिँदै आइतबार वडा नं. १ मा समेत शुरुवात गरिएको छ । वडा नंं.३ मा १ हजार ७ सय ६० कित्ता नापी भएको गाउँपालिकाका अमिन पदमराज भण्डारीले जानकारी दिए । स्वास्थ्यतर्फ सबै वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्याउने लक्ष्यसहित सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण, जनशक्ति तथा औषधी व्यस्थापनमा जोड दिइएको छ ।
यस्तै, १३ करोड, ८३ लाख १८ हजार २८६ रुपैयाँ लागतमा १५ शय्याको आधारभूत अस्पतालको प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ । अस्पतालको आगामी बैशाखदेखि नागरिकलाई चौबीसै घण्टा सेवा प्रवाह गर्ने गरी सञ्चालन गर्ने गाउँपालिकाको योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्कीले बताए ।
यातायात पूर्वाधारतर्फ ग्रामीण सडकको स्तरोन्नति तथा कालोपत्रेको काम ठेक्का सम्झौता भइ निर्माण भइरहेको छ । गाउँपालिकाका विभिन्न क्षेत्रमा चालू आर्थिक वर्ष २०७९/०८० मा संघीय सरकारको समपूरक अनुदानबाट ६ किलोमिटर सडक कालोपत्रेको काम अघि बढाइएको छ । कुल ३ करोड ९७ लाख २२ हजार ४६३ रुपैयाँ लागतमा चारवटा आयोजनाको सम्झौता भई रिङरोड कालोपत्रे गर्न लागिएको प्राविधिक शाखाका सबईन्जिनियर सुनिल जोशीले बताए ।