कसले र किन काट्यो हात्तिको सुँड ?

लोकपथ
343
Shares

चितवन । चितवनको सौराहामा गएराति हातीको सुँड काटिएको विषयले यतिबेला सामाजिक सञ्जालदेखि आम सञ्चारमाध्ययमसम्मको चासोको विषयमा बनेको छ ।

गएराति चितवन रत्ननगर नगरपालिका वडा नं ७ का दिपेन्द्र खतिवडाको घरमा पालिएको हात्तिको सुँडको टुप्पो भाग काटिएको हो ।

हात्तिको उमेर करिब ४५ देखि ५० वर्ष रहेको अनुमान गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले लोकपथलाई जानकारी दिए । हात्तीको सुँड किन र कसले काट्यो भन्ने विषय रहस्यको विषय भएको र अनुसन्धान भइरहेको उनले बताए ।

‘४५ देखि ५० वर्ष उमेर अनुमान गरिएको हात्तिको सुँडको टुप्पो भाग काटिएको अवस्थामा भेटियो । यो एक रहस्यमयी घटना हो । कसले र किन काट्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’
हात्तिको सुँड कुनै प्रयोजनका लागि काम नलाग्ने भए पनि कसैले व्यक्तिगत रिसिइबीको कारण सुँड काटेको हुनसक्ने उनको अनुमान छ ।

‘कुनै प्रयोजनका लागि पनि हात्तिको सुँड प्रयोग हुँदैन । कसैले व्यक्तिगत रिसिइबीको कारण काटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’ उनले भने ।

बन्यजन्तुलाई क्षती पुर्याउनेहरुमाथि कानुनी कारबाही हुने व्यवस्था छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ अनुसार दोषीमाथि ५ देखि १५ वर्षसम्मको सजाय वा ५ देखि १० लाखसम्म जरिवाना वा दुवै कारबाही हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।

राष्ट्रिय निकुञ्ज बाहेक व्यक्तिले पालनपोषण गरिरहेको हात्तीको सवालमा भने सरकारले त्यसलाई व्यवस्थित गर्नका लागि राष्ट्रिय निकुञ्ज विभागले दर्ताको प्रक्रिया थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?