मिटरब्याज पीडित : गृहमन्त्रालयमा वार्ता हुँदै, नयाँ बानेश्वरमा आन्दोलन जारी

लोकपथ
56
Shares

काठमाडौं । मिटरब्याज पीडितहरुले आज पनि आन्दोलन शुरु गरेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवन नजिकै दैनिक जसो उनीहरु आन्दोलन गर्दै आइरहेका छन् ।

यता पीडित पक्ष र सरकारी टोलीबीच वार्ता भइरहेको छ । गृहमन्त्रालयमा केहीबेरअघि वार्ता भइरहेको संघर्ष समितिका सदस्य कुमार गर्तौलाले लोकपथलाई जानकारी दिए ।

‘गृहमन्त्रालयमा वार्ता जारी रहेको छ । यता हामीले आन्दोलनलाई निरन्तरता दिएका छौँ ।’ उनले भने ।

यसअघि बिहीबार पनि पीडित पक्ष र सरकारी पक्षबीच वार्ता भएको थियो । सो क्रममा पीडित पक्षले आफ्ना मागहरु बुझाएको थियो भने सरकारी पक्षले प्रतिवेदन दिएको थियो । दुवै पक्षले अध्ययनपछि आज पुनः वार्ता हुन लागेको गर्तौलाले बताए ।

‘बिहीबारको वार्ता केही सकारात्मक रहेको थियो । हामीले प्रतिवेदन अध्ययन गरिरहेका छौँ । उहाँहरुले हाम्रो मागबारे अध्ययन गरेपछि आज वार्ता हुन लागेको हो ।’ उनले भने ।

गत चैत २ गते महोत्तरीको बर्दिबासबाट मिटरब्याज पीडितहरु पैदलबाट काठमाडौं आएका थिए । आफ्ना मागहरु पूरा नभएसम्म घर नर्किने पीडितहरुको अडान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?