काठमाडौं । सेवाग्राहीसँग घुस लिएको आरोपमा रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र सोही गाउँपालिका–७ का वडाध्यक्षसहित ३ जना पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले प्रमुख प्रशासकीय अधिकृत मरासिनी वडाध्यक्ष भीम बहादुर यादव र बिचौलिया बिनोद भरलाई पक्राउ गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत मरासिनी र वडाध्यक्ष यादवले उत्खनन गरी घाटगद्दीमा रहेको नदिजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनको लागि सेवाग्राहीसँग ५०,००० रुपैयाँ रिसवत मागेका थिए । सेवाग्राहीले ५० हजार बिचौलिया भरलाई दिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार उनीहरु तीनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको छ ।