बैतडीको हवाई सेवा एक वर्षदेखि बन्द

लोकपथ
52
Shares

बैतडी । बैतडीको पाटनस्थित विमानस्थलमा हवाई सेवा बन्द भएको एक वर्ष भएको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरूपमा हुने गरेको हवाई सेवा गत चैतदेखि बन्द भएको हो ।

साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकामा गत चैत १० गते यहाँ अन्तिमपटक उडान भएको थियो । हवाई भाडा महँगो हुँदा र यात्रु नपाउँदा बन्द हवाई सेवा पुनःसञ्चालन हुन नसकेको समिट एयर बैतडीका प्रतिनिधि कृष्णदत्त भट्टले बताए । उनले भने, “यात्रु अभावका कारण उडान हुन सकेको छैन, यात्रु नै नभएपछि हवाई सेवा बन्द भएको छ ।”

यसअघि उडान भर्दै आएको समिट एयरले अबदेखि उडान नभर्ने जनाएको छ । यात्रु अभाव हुन थालेपछि उडानका लागि गरिएको सम्झौता रद्द गरिएको भट्टको भनाइ छ । “दसैँ, तिहारका बेला मात्रै एकतर्फीरूपमा यात्रु पाइने र त्यसले इन्धन खर्च पनि नउठ्ने भएपछि उडान रद्द गर्न बाध्य भएका हौँ”, उनले भने । भट्टका अनुसार यात्रु पाइन छोडेपछि एक वर्षदेखि उडान बन्द भएपनि सम्झौता नै रद्द गरिएको हो ।

समिट एयर जहाजको अठार यात्रु क्षमता रहेको छ । पाटन–धनगढी हवाई यात्रा १७ मिनेटको थियो । सत्र मिनेटको हवाई यात्राका लागि रू पाँच हजार भाडा तोकिएपछि यात्रु पाइने छोडेका हुन् । सुरुमा हवाई सेवा सञ्चालन हुँदा रू तीन हजार आठ सय ५० भाडा तोकिएको थियो । समिट एयरले सम्झौता रद्द गरेपछि अब कहिले उडान हुने भन्ने अनिश्चित भएको छ । लामो समयदेखि बन्द रहँदा यहाँ आकस्मिकरूपमा धनगढी जानुपर्ने नागरिक समस्यामा परेका छन् । हवाई सेवा बन्द हुँदा आकस्मिकरूपमा बिरामी भएकालाई उपचारका लागि बाहिर अस्पातलमा लैजान तथा अन्य कामका लागि जाने नागरिकलाई समस्या भएको स्थानीय चमन भण्डारीले बताए । भाडा पनि महँगो भएकाले भाडा घटाएर नियमितरूपमा उडान सञ्चालन गरिनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?