आईजीपी सिंहसहित वरिष्ठ प्रहरी अधिकृतहरु भए प्रहरी सेवाबाट बिदा

लोकपथ
0
Shares

३० वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहसिहत प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई शुक्रबार बिदाइ गरिएको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच उनीहरुलाई बिदाइ गरिएको हो । उनीहरुलाई नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शुभकामनासहित बिदाइ गरे ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै सिंहले भव्य बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिएकोमा प्रहरी संगठन र नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरप्रति हार्दिक आभार प्रकट गरे ।

सिंहले नवनियुक्त प्रहरी महानिरीक्षक व्यावसायिक, कर्तव्यनिष्ठ र दूरदर्शी व्यक्तित्व रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा उनले संगठनलाई थप नयाँ उचाई दिने विश्वास व्यक्त गरे ।
सो क्रममा सिंहले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवम् प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्य सम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई हस्तान्तरण गरेका थिए । साथै नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सेवा निवृत्त हुन लागेका सिंहलगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई कृतज्ञताको चिनो प्रदान गरे ।
उक्त अवसरमा नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सेवानिवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतलाई राष्ट्र, नागरिक र संगठनप्रति पुर्‍याउनु भएको अमूल्य योगदानका लागि नेपाल प्रहरीको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरे ।
सिंहसँगै सेवा निवृत्त हुन लागेका प्रहरी वरिष्ठ अधिकृतहरुमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु सहकुल बहादुर थापा, उत्तम राज सुवेदी र दिवेश लोहनी, प्रहरी नायब महानिरीक्षकहरू नल प्रसाद उपाध्याय, मोहन कुमार आचार्य र मसाउद आलम खाँ तथा प्रहरी वरिष्ठ उपरीक्षकद्वय उमाशंकर पन्जियार र जनक राज पाण्डे रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?