काठमाडौं । तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाएको आरोपमा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृष्णबहादुर कटवाल न्यूल्केश श्रेष्ठ हिरालाल शिवाकोटी लोप्साङ थिन्ले विजय लामा रहेका छन् ।
पक्राउ परेकाहरुले १० जना तिब्बतीलाई नेपाली नागरिकता दिलाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
पक्राउ परेका कटवाल १० वर्षदेखि नै लेखापढी कानुन व्यवसाय गर्दै आइरहेका व्यक्ति हुन् । लाइसेन्स र दर्ता विना नै लेखापढी गर्दै आएका उनले हिरालाल शिवाकोटीसमेतको सहयोगमा विभिन्न व्यक्तिको नक्कली नागरिकता, शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, विवाह दर्ता, सम्बन्धविच्छेद जस्ता सरकारी कागजात कीर्ते गरेको पाइएको प्रहरीको भनाइ छ ।
कटवालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तिब्बती शरणार्थीको नागरिकता बनाउने क्रममा विभिन्न व्यक्तिलाई नक्कली बाबुको रुपमा उपस्थित गराएर सनाखत गराउने गरेको प्रवक्ता राठौरले बताए ।
पक्राउ परेका न्यूल्केश श्रेष्ठलाई कटवालले मिङछुङ शेर्पा नामको नक्कली नागरिकता बनाइदिएका थिए । त्यसपछि प्रति पटक १० हजार रुपैयाँ दिएर विभिन्न व्यक्तिको नक्कली बाबुको रुपमा प्रशासन कार्यालयमा उपस्थित गराउने गरेका प्रहरीको भनाइ छ । श्रेष्ठले तिब्बती शरणार्थी सोनाम छोडेन, टासी शेर्पा, नाम्से शेर्पा लगायतको नागरिकता बनाउन नक्क्ली बाबु बनेर सहयोग गरेको खुलेको छ ।
कटवालले कीर्ते कागजात तयार गरेर तिब्बतीलाई नेपाली नागरिकता बनाइदिएवापत प्रतिव्यक्ति ३ देखि ५ लाख लिने गरेको पाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया