लोकपथ समाचार प्रभाव : नेपालमा बसेर इसाई धर्मप्रचार गर्ने कोरियाली नागरिक पक्राउ

लोकपथ
2.2k
Shares

काठमाडौं । नेपालमा बसेर लामाे समयदेखि इसाई धर्मप्रचार गर्दै आएका एक दक्षिण कोरियाली नागरिक याेङ् हाे लीलाई प्रहरीले पक्राउ गरी अध्यागमन विभागलाई बुझाएको छ । मंगलबार दिउँसो रविभवनस्थित एक घरबाट उनलाई प्रहरीले पक्राउ गरी विभागलाई बुझाएको हो ।

लीले कहिले विजनेश भिसा त कहिले पर्यटक भिसामा नेपाल प्रवेश गरी नेपालका विभिन्न भू–भागमा इसाई धर्म प्रचार गर्दै आएका थिए ।

सन् २०१२ देखि नेपालमा बस्दै आएको उनले नेपालमा विभिन्न विजनेश गर्ने भन्दै उद्योग विभागमा कम्पनीसमेत दर्ता गराएका छन् । चितवनस्थित भरतपुर महानगरपालिका वडा नम्बर १२ मा त्रिएक फेसन गार्मेन्ट कम्पनी दर्ता गरेका छन् । यद्यपि, त्यो कम्पनी अहिले बन्द छ । त्यसअघि सन् २०१३ मा सामाखुसीमा सौल इन्टरनेशनल इन्स्टिच्युट खोलेका थिए । त्यसबाट धर्म प्रचार गरिरहेको चाल पाएपछि उक्त कम्पनी नै खारेज भएको थियो ।

झण्डै ११ वर्षअघि नेपालमा क्रिश्चियन धर्म प्रचार गर्ने जिम्मेवारी लिएर आएका लीको पछिल्लो समय झनै बढी सक्रियता बढेको देखिन्थ्यो । नेपालमा व्यवसाय गर्ने भन्दै विजनेश भिसा लिने र, त्यसैको आडमा नेपाल बसेर धर्म प्रचार गरिरहेका थिए, उनी ।

यसरी पर्यटक भिसामा नेपाल प्रवेश गरेका कोरियन नागरिकले खुलेआम नेपालमा क्रिश्चियन धर्मको प्रचार गरेको तथ्य लोकपथले फेला पारी प्रकाशित गरेको थियो । जसलाई लोकपथले  गत फागुन १८ गते बिहीबार प्रकाशित गरेकाे थियो । सोही प्रमाणका आधारमा अध्यागमन विभागले लीलाई पक्राउ गरी उपस्थित गराउन पर्यटक प्रहरीलाई पत्राचार गरेको थियो ।

प्रहरीले उनलाई आजै अध्यागमन विभागमा बुझाएको छ । आज उनलाई अध्यागमनमै राखि भोलि (बुधबार)बाट अनुसन्धान सुरु गरिने विभागका प्रहरी सहायक निरीक्षक इश्वर लामाले जानकारी दिए । ‘आज बिदाको दिन अनुसन्धान हुँदैन,’ उनले भने, ‘अब भोलि अध्यागमन विभागका अधिकारीहरुले सोधपुछ गरी अनुसन्धान गर्नुहुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?