पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात

लोकपथ
0
Shares

ताप्लेजुङको प्रसिद्ध पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । गएराति वर्षासँगै हिमपात भएको हो ।

सोमबारदेखि वर्षा हुँदा जिल्लाका हिमाली क्षेत्रमा हिमपात हुन थालेको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा मन्दिर क्षेत्रमा अहिले पनि सामान्य हिमपात भइरहेको छ । उनले भने, “अहिले म पाथीभरा मन्दिर क्षेत्रमा छु । सामान्य हिमपात हुने क्रम जारी छ । मन्दिर क्षेत्रमा दुई फिटको हाराहारीमा हिउँ जमेको छ ।”

तीन हजार सात सय ९४ मिटर उचाइ रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको तल्लो फेदी काफ्ले पाटीसम्मै हिउँ परेको उनले जानकारी दिए ।

उच्च हिमाली क्षेत्रमा निकै बाक्लो हिउँ परेको छ । यस्तै फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा ७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली बस्तीमा एक फिट बढीसम्म हिउँ परेको स्थानीयले बताएका छन् ।

घुन्साका टाँसी छिरिङ शेर्पाका अनुसार करिब डेढ फिटसम्म हिउँ परेको छ । यस्तै ओलाङ्चुङगोलामा पनि हिउँ परेको स्थानीय तेन्जिङ वालुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?