काठमाडौँ महानगरमा ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था अभिलेखन थालनी

लोकपथ
14
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा ५ मा ६८ बर्ष उमेर समूहका ५३० जना ज्येष्ठ नागरिकमध्ये ३३४ जनाले नियमित रुपमा मधुमेह र उच्च रक्तचापको औषधि सेवन गर्छन् । जनस्वास्थ्य विभागले गएको फागुन १४ गतेदेखि १६ गतेसम्म १ हजार ६६८ घरपरिवारमा पुगेर संकलन गरेको तथ्याङ्कले यो अवस्था देखाएको हो ।

सोही अनुसार महानगरले आइतबारबाट ३ दिने ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण सुरु गरेको छ । शिविरमा गंगालाल हृदय केन्द्रका कार्डियोलोजिष्ट डा. संजिता अन्सारीसहित विशेषज्ञ चिकित्सक स्वास्थ्य परीक्षणमा खटिएका छन् । त्यस्तै स्त्री तथा प्रसुति रोग विषेशज्ञ डा. सुनिता शर्मा, महानगरका मेडिकल अफिसर प्रशान्त भट्टलगायत स्वास्थ्यकर्मी शिविरमा छन् ।
शिविरबाट प्राप्त सूचनाका आधारमा उनीहरुलाई औषधि उपलब्ध गराउने महानगरको योजना छ ।
ज्येष्ठ नागरिकको स्वास्थ्य आफ्नो सरोकार रहेको बताउँदै वडा ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले भने, ‘स्वास्थ्य उपचारलाई सरल, सहज र पहुँचयुक्त बनाउन सकियो भने नागरिकलाई ठूलो राहत प्राप्त हुन्छ । यसका लागि काम भइरहेको छ ।’
वडा ५ बाट थालिएको कार्यक्रम अन्य वडामा विस्तार गर्दै लैजाने महानगरको योजना छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?