बुटवलमा सेवाप्रवाह र विकास योजनाबारे विज्ञसँग छलफल

लोकपथ
0
Shares

बुटवल । बुटवल उपमहानगरपालिकाले सेवा प्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न विज्ञ तथा सरोकारवालासँग छलफल थालेको छ । उपमहानगरले क्षेत्रगत सुझाव सङ्कलन तथा समन्वयका लागि बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालासँग सोमबारदेखि छलफल सुरु गरेको उपमहानगरप्रमुख खेलराज पाण्डेयले बताए ।

सोमबार कानुन व्यवसायी, इञ्जिनीयर र चिकित्सकसँग छलफल गरिएकामा उनीहरुले बुटवलवासीको आवश्यकताअनुसार प्राथमिकता निर्धारण गरेर योजना निर्माण गर्न सुझाव दिएका थिए ।

सहभागी व्यक्तिहरुले सङ्घ, प्रदेश र स्थानीय सरकारका योजना दोहोरिएको र दोहोरो योजनाका कारण जनता अलमलमा परेकाले यस विषयमा स्थानीय सरकारका रुपमा समन्वयकारी भूमिका निर्वाह गर्न सुझाव दिएका थिए । उपमहानगर प्रमुख पाण्डेयले बुटवललाई साझा सहरका रूपमा अगाडि बढाउने प्रयास गरिरहेकाले सबै क्षेत्रका बुद्धिजीवीको रचनात्मक सुझावको अपेक्षा गरिएको बताए।

“हामी बुटवललाई साझा सहरका रूपमा देशकै अगुवा सहर बनाउन चाहन्छौँ,” उनले भने, “बुद्धिजीवी र अनुभवी साथीको साथ तथा सहयोग जरुरी छ ।” कार्यक्रममा कानुन व्यवसायी, इञ्जिनीयर र चिकित्सा क्षेत्रका व्यक्तिले आगामी नीति कार्यक्रम र बजेट निर्माणमा बुटवललाई व्यवस्थित सहरका रूपमा स्थापित गर्ने गरी योजना ल्याउन सुझाव दिएका थिए ।

चैत १ गते धार्मिक सङ्घ संस्थाका प्रमुखसँग, चैत २ गते महिला स्वयम्सेविका र सामुदायिक वन र पार्कका अध्यक्षसँग छलफल गरिने उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?