मकवानपुर । राष्ट्रिय भूमि आयोग मकवानपुरले मकवानपुरमा ३६ हजार बढी भूमिहिन सुकुम्वासी रहेको जनाएको छ । सो आयोगका अनुसार हेटौँडा उपमहानगरपालिकासहित दुई नगरपालिका र आठ गाउँपालिका गरी १० पालिका रहेको मकवानपुरमा ३६ हजार एक सय ६८ भूमिहिन सुकुम्वासी रहेको आयोगले जनाएको छ ।
जिल्लामा आयोग स्थापना भएपछि आयोगले गरेको प्रगतिबारे जानकरी दिने उद्देश्यले आज आयोजित पत्रकार सम्मेलनमा मकवानपुरको १० वटै स्थानीय तहमा तीन सय ७९ भूमिहिन दलित, दुई हजार चार सय ६३ भूमिहिन सुकुम्वासी तथा ३३ हजार तीन सय २६ अव्यवस्थित भूमिहिन बसोबासी रहेको र उनीहरूले जग्गा प्रमाणपत्रका लागि आयोगमा दर्ता गरेको जानकारी दिइयो ।
आयोगका मकवानपुर अध्यक्ष विष्णुप्रसाद दाहालले भूमिहिनको जग्गा प्राप्तिसम्बन्धी दर्ता भइसकेकाले एक वर्षभित्र नै उनीहरूले लालपूर्जा प्राप्त गर्ने जानकारी दिए । जिल्लाको बागमती गाउँपालिकाका तीन भूमिहिन दलितले लालपूर्जा प्राप्त गरिसकेको उल्लेख गर्दै उनले अझै त्यहाँको ३० जनाले जग्गा प्राप्त गर्ने प्रक्रिया सुरु भएको बताए।
आयोगका सदस्य सचिवसमेत रहेका नापी कार्यालय मकवानपुरका प्रमुख नापी अधिकृत पूर्णहरि सुवेदीले आयोगको काम र अधिकारबारे जानकारी दिँदै पहिलो चरणमा भूमिहिन दलित र सुकुम्वासीलाई लालपूर्जा दिइने बताए । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले भूमिहिन सुकुम्वासीको समस्या छिटो समाधान गर्नुपर्ने विचार व्यक्त गरे ।
यसैबीच भूमि अधिकार मञ्च हेटौँडाको अध्यक्ष पदमा गोविन्दप्रसाद (जी) न्यौपाने सर्वसम्मतले चयन भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया