कोरियाली नागरिकको अवैध धन्दाप्रति अध्यागमनको चासो, पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई पत्राचार

लोकपथ
252
Shares

काठमाडौं । दक्षिण कोरियाली नागरिक योङ् हो लीले नेपालमा इसाई धर्मको प्रचार गरेकोप्रति अध्यागमन विभागले अनुसन्धान शुरु गरेको छ । पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गरेको भन्ने तथ्य सार्वजनिक भएपछि लीलाई निगरानीमा राखेर अनुसन्धान सुरु गरिएको विभागका महानिर्देशक झलकराम अधिकारीले लोकपथलाई जानकारी दिए ।

यस विषयमा गृह मन्त्रालयलाई समेत जानकारी गराइसकिएको उनले बताए । ‘कुनैपनि विदेशी नागरिक पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गर्न पाउँदैनन्,’ उनले भने, ‘यदि त्यो प्रमाणित भयो भने हामी पक्राउ गरी अनुसन्धान गर्छौं ।’

त्यस्तै, लीलाई पक्राउ गरी सोधपुछ गर्न पर्यटक प्रहरीलाईसमेत पत्राचार गरिसकिएको विभागका उपसचिव तथा सूचना अधिकारी कमल पाण्डेले बताए । ‘पर्यटक प्रहरीलाई हामीले पत्राचार गरिसकेका छौँ,’ उनले भने, ‘अब पर्यटक प्रहरीले पक्राउ गरी सोधपुछ गरेपछि धर्म प्रचार गरेको पुष्टि भयो भने हामी कारवाही गर्छौँ ।’

यदि कोही नागरिकले नेपालमा धर्म प्रचार गरेको पुष्टि भएमा उसलाई ५ वर्ष नेपाल आउन नमिल्ने गरी निष्कासन गर्न सकिने विभागको निर्देशिकामा उल्लेख छ ।

यसअघि लोकपथले लीसहित उनको श्रीमतीले वर्षौँदेखि नेपाल बसेर इसाई धर्मको प्रचार गरिरहेको तथ्य सार्वजनिक गरेको थियो । जसमा उनीहरुले सन् २०१२ देखि विभिन्न क्षेत्रमा व्यवसाय गर्ने बाहनामा विजनेश भिसा लिइ इसाई धर्म प्रचारमा सक्रिय रहँदै आएको पाइएको थियो ।

पछिल्लो केही महिनायता ली दम्पत्तिले नेपालमा झनै बढी सक्रियता बढाएका छन् । पछिल्लोपटक गत १३ फेब्रुअरीमा पर्यटक भिसामा नेपाल आएका यी दम्पत्तिले नेपालका विभिन्न भू–भागमा पुगेर धर्म प्रचार गरिरहेका छन् । गत हप्तामात्र ली दम्पत्ति सहितको टोलीले झापाको कामक्ष होटलमा ४ दिने सेमिनार सम्पन्न गरेको थियो ।

अहिले ली दम्पत्ति र उनलाई नेपालमा धर्म प्रचारमा सहयोग गर्ने बाराका मनोज चौधरी र पवन यादव काठमाडौंस्थित रविभवनको एक घरमा बस्दै आएको स्रोतले लोकपथलाई जानकारी दिएको छ ।

पर्यटक भिसामा नेपाल रहेका यी दम्पत्तिले फेरि भर्चुअलमार्फत प्रभू भोजको तयारी गरिरहेका छन् । जसका लागि पवनले थुप्रै मानिसहरुलाई भर्चुअल ग्रुपमा जोडिरहेका छन् । तर, नियामक निकाय भने अझै पनि मुकदर्शक बनिरहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?