महाधिवेशन बोलाउन सिटौलाको माग, देउवा र पौडेललाई नेता नमान्ने !

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले आगामि चैत्र महिनाभित्र महाधिवेशन बोलाउन माग गरेका छन् । 

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता सिटौलाले आगामी चैत्र महिनाभित्र पार्टीको १४ औँ महाधिवेशन बोलाउन सभापति शेरबहादुर देउवालाई दबाव दिएका हुन् ।

यदि चैत्र महिनाभित्र महाधिवेशन नबोलाए कांग्रेस पार्टी कमजोर हुने दाबी उनको छ । 

त्यस्तै उनले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई आफूले नेता नमान्ने घोषणा गरेका छन् । 

‘उहाँहरु (देउवा र पौडेल) दुबैमा नेतृत्व गर्ने क्षमता देखिएन । त्यसकारण म उहाँहरुलाई नेता मान्न सक्दिन । त्यो क्वालिटी उहाँहरुमा छैन’ नेता सिटौलाले भने । 

त्यस्तै कांग्रेसमा हिन्दु राज्यको आवाज उठेपनि त्यो अहिलेको सन्दर्भमा जायज नभएको नेता सिटौलाले बताए । 

साथै उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवार संसदमा दिएको अभिव्यक्तिको आलोचना गरे । 

‘अध्यक्ष प्रचण्डबाट यस्तो अभिव्यक्ति आउनु भनेको अधिनायकवादको जन्म हुनु हो, संविधान र लोकतान्त्रिक पद्धतिमाथि यसरी प्रश्न उठाउनु गम्भिर विषय हो’ उनले भने । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?