होली किन मनाइन्छ ? रङहरुको पर्व होलीको यस्ता छन् विशेषता

लोकपथ
286
Shares

जब वसन्त ऋतुको पुनरागमन हुन्छ, प्रकृति हराभरा भइ प्रफुल्ल मुद्रामा मुस्कुराउन थाल्छ । वरिपरिको वातावरण रमणीय देखिन थाल्छ । अनि फाल्गुन शुक्ल अष्टमीदेखि प्रत्येकका घर आँगनमा फागु महोत्सव शुरु हुन थाल्छ । नेपालमा विभिन्न स्थान अनुसार यो पर्व आ–आफ्नो तरिकाले मनाइन्छ ।

विशेष गरी काठमाडौं उपत्यकामा फाल्गुण शुक्ल अष्टमीको दिन वसन्तपुर दरबारमा शुभ मुहुर्तमा वनबाट काटेर ल्याइएको रूखलाई ताछेर विशेष किसिमको ध्वजा पताका बाँधेर सजाइ चीरोत्थान गरिन्छ र यो पर्वको शुभारम्भ भएको मानिन्छ । ठूलो तीन छत्र भएको यस चीरको आकृति गोलो हुन्छ र तहतह परेको छत्रका झल्लरहरूमा रङ्गीबिरङ्गी कपडा र पताकाहरू झुण्ड्याइएका हुन्छन् । यसपछि पूर्णिमाको दिन लिंगो अर्थात् चीरको वरिपरि आगो बालेर ढालेपछि यो पर्वको समापन हुन्छ ।

प्राचीन मान्यता अनुसार राजा गुणकामदेवको समयदेखि नै असन धलाँसीका मानन्धर जातिले सो चीर ठड्याउने जिम्मा पाएबमोजिम मानन्धर समूहर्को सिँ’ गुठीबाट चीर उठाउने कार्य गरिन्छ । चीर गाड्दा परम्परागत सामूहिक गायन गर्दै फागु खेल्नेको मुखभरि अबीर छर्किइन्छ र चीरको पूजा गरिन्छ । विशेष गरी शिशिर ऋतुको समाप्ति र वसन्त ऋतुको हरियालीको खुशियालीको आगमनमा दुःख पीडा सबै बिर्सिएर, रिसराग सबै भुलेर एक–आपसमा खुसियाली बाँड्दै विभिन्न किसिमको रङ्ग एक–आपसमा दलिने परम्परा भएकोले यसलाई मित्रताको पर्व पनि भनिन्छ ।

होली पर्वको इतिहास

होलीको बारेमा पौराणिक भनाइ अनुसार प्राचीन समयमा नास्तिक हिरण्यकशिपु नामक राक्षसले भगवान विष्णुभक्त आफ्नै छोरा प्रहृलादलाई मार्न हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन) जिम्मा दिएका थिए । दाजुको आदेशानुसार होलिका प्रहृलादलाई काखमा लिएर अग्निमा बस्ता आगोले धर्मको साथ दिएकोले होलिका जलेर नष्ट भइन् । तर, प्रहृलादलाई केही भएन । यही कारणले गर्दा पनि होली पर्वको छुट्टै विशेषता रहेको छ ।

होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ भने अर्को एक प्रसङ्ग अनुसार द्वापरयुगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिनु भएकाले त्यसको शलाई ब्रजवासीहरूले यसैगरी जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ ।

होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो । इतिहासकारहरू मान्छन् कि यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो । यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ । नारद पुराण र भविष्य पुराण जस्तो प्राचीन हस्तलिपीहरू र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ । विंध्यक्षेत्रको राम गढ स्थानमा स्थित ईसा भन्दा ३ सय वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख छ । संस्कृत साहित्यमा वसन्त ऋतु र वसन्तोत्सव अनेक कविहरूको प्रिय विषय थियो । भक्तपुरमा चीर स्वायगू अर्थात् लिङ्गो घुमाएपछि फागू पर्व सुरूवात भएको मानिन्छ ।

जगतप्रकाश मल्लको समयमा बनेको दत्रात्तय मन्दिरसँगै रहेको भैरव मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको कपडाको योनी जुधाएर होलीको सुरूवात गरिन्छ । फागुन शुक्ल अष्टमीको दिन भिमसेन मन्दिरमा राखिएको लिङ्गो अर्थात् लगलाई टोल—टोलमा पसलै पिच्छे घुमाएर पूजा गरी घुमाएर पुन मन्दिरको पाटीमा राखिने परम्परा छ ।

काठबाट बनेको दुई हात लामो लिङ्गो करिब ३० इन्च मोटाई रहेको छ । संस्कृतिविद् ओम धौभडेलका अनुसार यसलाई भिमसेनको लिङ्ग र कपडाबाट बनाएको प्वाललाई द्रौपतीको योनीको रूपमा लिने गरिन्छ । घर र पसल वरपर घुमाएको लिंगलाई भक्तजनले स्पर्श गरी ढोग्ने र दान दक्षिणा चढाउने चलन छ । लिंगको दर्शन गरे व्यापार फस्टाउने विश्वास रहेको छ ।

नेवार समुदायमा होलीको विशेषता

चीर स्वायगू अर्थात लिङ्ग झुन्ड्याएपछि नेवार समुदाय भिमसेन मन्दिरमा गई गुठी भोज खाने गर्दछन् ।

फाल्गुन शुक्ल पूर्णिमाका दिन रङ्ग होली खेलेपछि उक्त दिन साझ भक्तपुर तलेजुभित्र कृष्णलाई खटमा राखी १६ प्रकारको रोटी, कपास, गूलाबको फूल, अत्तर र अमुख सहित पूजा गरेपछि नगर परिक्रमा गरिन्छ । त्यसबेला बाटोमा रहेको देवी देवतालाई तेलमा मुछेको अविरको डल्ला छरी साँझपछि दत्रातय मन्दिर पुर्याउने प्रचलन रही आएको छ ।

साँझपख दत्तात्रय मन्दिर अगाडिको भिमसेनको मन्दिरबाट लिङ्ग निकाली एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाली पुनः मन्दिरमा राखिन्छ, यसरी मन्दिरबाट खोलासम्म लिङ्ग बोकेर लैजाने व्यक्तिको हानाथाप हुन्छ ।

लिङ्ग बोक्नेको छोरा जन्मन्छ भन्ने विश्वास अहिलेसम्म पनि रहेकाले लिङ्ग बोक्न छोरा नहुनेको प्रतिष्पर्धा चल्ने गरेको छ । लिङ्ग पखालेर भिमसेन मन्दिरमा ल्याएपछि यस वर्षको होली समाप्त हुन्छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?