प्रधानमन्त्री ओलीले आज धरहरा पुनर्निर्माणको शिलान्यास गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज धरहरा पुनर्निर्माणको शिलान्यास गर्ने भएका छन् ।  

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापनाको आज तीन वर्ष पुगेको अवसरमा बिहीवार बिहान ११ बजे धरहरा परिसरमै आयोजना हुने एक कार्यक्रममा प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गर्ने भएका हुन् । 

आफ्नो पहिलो कार्यकालमा समेत प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको शुरुवात गरेपनि दातृ निकायले हात झिकेपछि पुनर्निर्माण प्राधिकरणले आफैँ निर्माण शुरु गरेको हो ।

करिब २ महिना अघि नै काम शुरु भएपनि स्थापना दिवसको अवसर पारेर प्राधिकरणले आज धरहरा निर्माणको शिलान्यास गर्न लागेको हो । 

२०७२ पुस १२ गते स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म ४५ प्रतिशत काम सम्पन्न गरिसकेको छ । 

प्राधिकरणले कार्यकालको बाँकी २ वर्षे समयावधिमा ५५ प्रतिशत काम सक्ने लक्ष्य लिएको छ । 

पञ्चवर्षीय पुनर्निर्माण तथा पुनस्थापना योजनाका लागि करिब १० खर्ब लाग्ने अनुमान गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले ६७ अर्ब राहत, उद्धार र अन्य कार्यक्रममा खर्च भइसकेको जानकारी दिए । 

बजेटको व्यवस्थापन प्रमुख चुनौती रहेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय दाता सम्मेलनमा ४ खर्ब १० अर्ब रुपैयाँको प्रतिबद्धता आएको बताइए पनि वास्तविक रकम ३ खर्ब ४३ अर्ब मात्रै भएको र ६२ अर्ब रुपैयाँको लागि मात्रै सम्झौता भएको बताए ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?