काठमाडौं । कैलालीमा गैरकानुनी तवरले नेटवर्किङ विजनेस संचालन गरि ठगी गरिरहेको आरोपमा आरएनसी ट्रेनिङ प्रालिमा आन्तरिक राजस्व कार्यालय धनगढीले छापा मारेको छ ।
जिल्लाको बर्दगोरिया गाउँपालिका १ मा संचालित आरएनसी ट्रेनिङ प्रालिमा राजस्व कार्यालयको टोलीले बुधबार अनुसन्धानका लागि कागजात नियन्त्रणमा लिएको हो । राजस्व कार्यालय धनगढी कार्यालयका कर अधिकृत बिधुर चुडालसहितको टोलीले आरएनसी ट्रेनिङ कार्यालयका कागजात नियन्त्रणमा लिएको छ ।
‘कम्पनीले कर छली गरेको, पिरामिड शैलीमा व्यापार गरेको, अनुमति बिना वस्तु उत्पादन गरि बिक्री गर्ने गरेको सूचना प्राप्त भएपछि हामीले निरीक्षण गरेका हौँ,’ कर अधिकृत चुडालले भने । उनले आवश्यक कागजात नियन्त्रणमा लिएर छानबिन अघि बढाइएको बताए ।
वस्तुको प्रत्यक्ष बिक्री व्यवस्थापन तथा नियमन गर्ने ऐन २०७४ ले पिरामिडमा आधारित व्यापारमा प्रतिबन्ध लगाएको छ । ऐनको दफा ११ मा वस्तु खरिद गर्नुपूर्व अनिवार्य रूपमा कुनै किसिमको सदस्यता लिनुपर्ने अवस्था भएको सञ्जालयुक्त कार्य, एक वस्तु खरिद गर्दा अन्य वस्तुसमेत एकमुष्ट प्याकेजमा खरिद गर्नुपर्ने कार्य, आफू मातहत बिक्रेता बनाई कमिसन लिने तथा व्यावसायिक दृष्टिले अनुचित र असम्भव देखिने आकर्षक उपहार वा कमिसनको प्रलोभन देखाई सदस्य बनाउने कार्य गर्नु दण्डनीय हुने उल्लेख गरेको छ ।
ऐनमा भएको व्यवस्था विपरीत कार्य गर्ने बिक्रेता वा वितरकलाई सरकारले ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था छ । तर, उक्त ट्रेनिङ प्रालिले सयौं व्यक्तिलाई सदस्य बनाएर पिरामिड शैलीको व्यापार गरिरहेको खुलेको हो ।
उक्त आरएनसी ट्रेनिङ प्रालिमा कार्यरत कर्मचारीले दैनिक आवश्यक पर्ने वस्तुको खरिद बिक्री गरेको दाबी गर्छन् । तर, निश्चित मूल्य नतिरी वस्तु खरिद गर्न पाइँदैन । सामान खरिद गर्न अनिवार्य रूपमा सदस्यता लिनै पर्ने हुन्छ । उनीहरूले ५ हजारदेखि २० हजार सम्मका विभिन्न स्किम राखी व्यापार गर्ने गरेका छन् ।
उनीहरूले वस्तु खरिदपछि आम्दानी गर्न दायाँ/बायाँ थप एक/एक जनालाई वस्तु खरिद गराउनुपर्ने बाध्यता हुन्छ । यो क्रम अर्कोमा पनि लागू हुन्छ । जसको स्वरूप पिरामिड शैलीको हुन्छ । जबकि कानुनले यस्तो व्यापारलाई बन्देज गरेको छ । कार्यालयबाट मात्रै करिब २ हजार जनाले अनिवार्य सदस्यता लिएका छन् ।
जसमा स्थानीयको संख्या अति न्युन देखिन्छ । अधिकांश मात्रामा बाहिरी जिल्लाबाट तालिम लिन यहाँ आउने गरेका छन् । संस्थाले बाहिरी जिल्लाबाट आउनेहरूबाट आवासका लागी १० हजार रुपैयाँ अनिवार्य रूपमा उठाउने गरेको छ । प्रायले १० हजार रुपैयाँ तिरेर सदस्यता लिएका छन् । खरिदकर्ताबाट करोडौँ रकम संकलन गर्ने गरेको यस कार्यालयले रावस्व छलि गरेको छ । आरएनसी ट्रेनिङका व्यवस्थापक भीम ऐरीका अनुसार उनीहरूले होस्टेल समेत सञ्चालन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया