काठमाडौं । विशेष अदालतले भृकुटीमण्डपस्थित फनपार्कको जग्गा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा प्रतिनिधि सभाका निलम्बित सांसद टेकबहादुर गुरुङलाई दोषी ठहर गरेको छ । कांग्रेसका मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङ, पूर्व एमाले नेता एवं मन्त्री बद्री न्यौपानेसहित ९ जनालाई अदालतले दोषी ठहर गरेको हो ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई मतियारको रुपमा दोषी ठहर गरेको छ । प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार यो मुद्दामा गुरुङसहित ९ जना दोषी ठहर भएका छन् भने आरोपित ५ जनाले सफाइ पाएका छन् ।
दोषी ठहर हुनेमा बद्री न्यौपाने, प्रमोद मेहता, कोषाध्यक्ष कुञ्ज बिहारीप्रसाद चौधरी, सदस्य सचिव रविन्द्र कुमार यादव भन्ने रवीन्द्र कुमार, सदस्य मोहनराज शर्मा, मदनकुमार लाल कर्ण, हरि न्यौपाने, मेला सञ्चालक गुरुङ, प्रमुख सञ्चालक रवीन्द्र गुरुङ, परिषद्का तत्कानीन निर्देशक मदनप्रसाद रिमाल छन् । निलम्बित सांसद टेकबहादुर गुरुङलाई मतियार ठहर गरेको छ । त्यस्तै, कोषाध्यक्ष रन्न गाहामगर, मदनप्रसाद रिमाल, बलबहादुर स्वार, प्रेमसिंह धामी र जगदेव चौधरी सफाइ पाएका छन् । फैसलामा सजाय भने २५ फागुनमा सुनाइने भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ माघ २०७५ मा गुरुङसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले विपक्षी बनाइएकाहरुविरुद्ध ३१ करोड ५२ लाख १७ हजार ६ हजार ७८ रुपैयाँ बिगो र कैद मागदाबी गरेको थियो ।
बद्रीप्रसाद न्यौपाने महिला बालबालिका तथा समाज कल्याणमन्त्री भएका बेला भृकुटीमण्डपको ६० रोपनी जग्गा प्रतिमहिना ५ लाख ५५ हजार भाडामा १० वर्षका लागि काठमाडौं फनपार्कलाई दिने निर्णय भएको थियो । गुरुङ भृकुटीमण्डप फनपार्कको मेला सञ्चालक थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया