सशस्त्र प्रहरी महानिरीक्षक अर्याल दक्षिण सुडान प्रस्थान

लोकपथ
0
Shares

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल मेडल परेडमा भाग लिन सोमबार
अफ्रिकी मुलुक दक्षिण सुडानतर्फ प्रस्थान गरेका छन् । जहाँ सशस्त्र प्रहरी बल नेपालको फम्र्ड पुलिस युनिट (एफपीयु) तैनाथ छ ।

मेडल परेडको साथसाथै सशस्त्र प्रहरी बल नेपालको थप मिसन तैनाथी तथा अहिलेको मिसनमा जनशक्ति थप गर्ने विषयमा समेत महानिरीक्षक अर्यालले संयुक्त राष्ट्र संघका प्रतिनिधिहरुसँग भेटवार्ता र छलफल गर्ने जनाइएको छ ।

सन् २००३ बाट सशस्त्र प्रहरी बल यूएन मिसन अन्तर्गत पहिलो पटक लाईवेरियामा खटिएको थियो । सो मिसन सन् २०१६ मा बन्द भएको हो । त्यसअघि दक्षिण सुडानको जुवामा सन् २०१४ मा सशस्त्र प्रहरी बल नेपाललाई थप मिसन प्राप्त भएको थियो ।

सो मिसनको पहिलो कमाण्डरको रुपमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दर्जामा रहँदा कमाण्ड सम्हालेका थिए । सो मिसनमा हाल १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारी कार्यरत छन् ।

सन् २०१६ मा दक्षिण सुडानकै दोश्रो एफपीयु मिसनको रुपमा बोर र वाउमा १ सय ४० जनाको टोली तैनाथ रहेकोमा सन् २०२१ मा सो मिसन समेत बन्द भएको छ ।

पछिल्लो पटक सशस्त्र प्रहरी बल नेपालको तर्फबाट अफ्रिकी मुलुक माली मिसनको लागि १ सय ४० जनाको टोली तयारी हालतमा राखिएको छ भने सो टोली निकट भविष्यमा त्यसतर्फ प्रस्थान गर्ने छ ।

सोमबार दक्षिण सुडानतर्फ प्रस्थान गरेका महानिरीक्षक अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत बलका बरिष्ठ
अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हार्दिक विदाई गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?