मदन भण्डारी मेमोरियल कलेजको नवनिर्मित भवन उद्घाटन

लोकपथ
35
Shares

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा रहेको मदन भण्डारी मेमोरियल कलेजको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।

भारत सरकारको आर्थिक अनुदानमा निर्मित भवनको सोमबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र पाण्डे र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले संयुक्त रुपमा कलेज भवनको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकी र मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

विसं २०६३ सालमा शिलान्यास गरिएको उक्त भवन तीन तलाको रहेको छ भने त्यसमा २९ कोठा छन् । त्यसका साथै पुस्तकालय, सभा हल लगायत अन्य सुुविधा पनि रहेका छन् ।

उद्घाटन समारोहमा बोल्दै पूर्वमन्त्री पाण्डेले नेपाल र भारतबीच शदियौँदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै यस्तो सहयोग दुई देशबीचको आपसी सम्बन्ध र समझदारीको प्रतिविम्ब भएको बताए । नेपालका स्थानीय समुदायको सहयोगका लागि भारतको धेरै विकास परियोजना रहेको बताउँदै उनले थप सहयोग निरन्तर हुने विश्वास व्यक्त गरे ।

यसैगरी भारतीय राजदूत श्रीवास्तवले नेपालको शिक्षा स्वास्थ्यलगायतका क्षेत्रमा भारत सरकारको तर्फबाट सहयोगका धेरै परियोजना रहेको जानकारी गराउँदै जनस्तरको सहयोग आदानप्रदानले द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे । भारत सरकारले दूतावास मार्फत विभिन्न विकास परियोजनामा काम गरिरहेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?