कांग्रेस नेता डा.भण्डारीको स्वास्थ्यमा सुधार

लोकपथ
78
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद डा.चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । काठमाडौंको बुद्धनगरस्थित आफ्नै घरमा १० दिन पहिले ग्यास चुहिएर विष्फोट हुँदा घाइते भएका डा.भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो ।

भारतको नेशनल वर्न सेन्टर मुम्बईमा उपचार गराइरहेका नेता डा.भण्डारीको शरीरको तापक्रम, धडकन गति, श्वासप्रश्वासको दर, रक्तचाप सबै सामान्य अवस्थामा रहेको भण्डारीका आफन्त मीनप्रसाद भण्डारीले जानकारी दिए । डा.भण्डारीको आज ड्रेसिङ गरिने भएको छ ।

शुक्रबारबाट ठोस खाना खान शुरु गरेका डा.भण्डारीले राम्रोसँग बोल्ने र खाना खाने गरेको मीनप्रसादले बताए । उनलाई अहिले भेटघाट बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ । गत फागुन ३ गते राति आफ्नो निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते हुनुभएको थियो ।

घटनालगत्तै दुवै जनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा फागुन ४ गते बिहान निधन भएको थियो भने सांसद भण्डारीलाई थप उपचारका लागि सोही दिन भारत लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?