काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको घटनामा पक्राउ परेका तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
बुधबार थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको एकल इजलासले पक्राउ परेका तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।
पूर्व राष्ट्रिय क्रिकेटर मेहबुव आलम, राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी र पर्साको वीरगन्ज घर भएका नितेश गुप्तालाई जनही तीन–तीन लाखमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लिग शुरु भएदेखि नै शंकास्पद गतिविधि हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको थियो । लिगमा स्पट फिक्सिङको उजुरी परेपछि केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अनुसन्धान थालेको थियो ।
अनुसन्धानको क्रममा सिआइबीले १२ जनालाई प्रतिवादी बनाएर काठमाडौं सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । कार्यालयले ५ जनाविरूद्धमात्रै मुद्दा दर्ता गरेको थियो ।
दुई जना फरार नै थिए । अन्यको ठेगाना नखुलेको भन्दै मुद्दा दर्ता गरिएको थिएन । प्रहरीले फिक्सिङमा संलग्न भएको दाबी गरेको नवीन कँडेल र रवि माझी भने फरार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया