सांसद भण्डारीको स्वास्थ्यमा सुधार, भोलिदेखि कृत्रिम अक्सिजन बन्द गरिने

लोकपथ
65
Shares

काठमाडौं । एलपीजी ग्यास सिलिण्डरको विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीलाई भोलिदेखि कृत्रिम अक्सिजन दिन बन्द गरिने भएको छ ।

नेता भण्डारीको थप उपचार यही फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ । उनलाई आज राति पाँच लिटर अक्सिजनमा मात्र रिजरभायर ब्याग मास्कमा राखिने र भोलिसम्म मात्र रिजरभायर ब्याग मास्कमा राखिने उपचार समन्वयमासँगै रहेका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिए ।

नेशनल बर्न सेन्टरका डा.सुनिल केशवानीका अनुसार नेता भण्डारीलाई ‘इटी ट्युब’ मा अब राख्न नपर्ने र इन्फेक्सनको मात्रा पनी कम हुँदै गएको उनले जानकारी दिए । नेता भण्डारीको अनुहारमा नयाँ छाला उत्साहजनक रुपमा पलाएको तर हातहरूमा अलिअलिमात्र पलाएकाले एक हप्ता अझै हेर्ने, अनि मात्र आवश्यक भएमा हातको ग्राफ्टिङ गर्ने चिकित्सकले जनाएका छन् ।

उनलाई छिटो सुधार भइरहेकाले अबको चार दिनपछि सायद आइविसियु (इन्टेन्सिभ बर्न केयर युनिट) बाट बाहिर निकाल्न सकिने चिकित्सकले बताएका नेता कँडेलले जानकारी दिए । यही फागुन ३ गते राति आफ्नो निवासमा ग्यास सिलिन्डरको विस्फोट हुँदा सांसद डा.भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए ।

घटनालगत्तै उनीहरू दुवै जनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो ।

नेता डा.भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि गत बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो । नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?