मोरङ । मोरङको बुढिगंगा गाउँपालिका–२ मा एक महिलाको शव फेला परेको छ ।
सोमबार दिउँसो अपरिचित महिलाको शव बोरामा प्याक गरेको अवस्थामा फेला परेको हो ।
मोरङ बुढिगंगा–२ मा ती अपरिचित महिलाका शव फेला परेको वडाध्यक्ष रेवती नारायण चौधरीले लोकपथलाई जानकारी दिए ।
वडाध्यक्ष चौधरीका अनुसार आइतबार दिउँसो त्यहाँका एक स्थानीयको घरमा ३ जना पुरुष र १ जना महिला आएका थिए । सो घरमा रहेका वृद्धलाई केहीबेर काम छ बाहिर जान भनेका थिए । ती वृद्ध आफ्नो घरबाट बाहिर गएको र करिब २ घण्टा पछि ती पुरुषहरु निस्किएर गएका थिए । वडाध्यक्ष चौधरीले दिएको जानकारी अनुसार ती पुरुषहरुले महिलाको हत्या गरेर बोरामा प्याक गरेर गोठमा राखेर गएको ती वृद्धले प्रहरीसँग बताएका छन् ।
घटनाबारे वडाध्यक्ष चौधरीले भने, ‘आइतबार दिउँसो ३ जना पुरुष र एक जना महिला एक स्थानीय घरमा आएका थिए । त्यहाँ रहेका एक वृद्धलाई ती अपरिचित व्यक्तिहरुले केहीबेर काम भएकाले अन्तै बस्न भनेका रहेछन् । करिब २ घण्टापछि ती पुरुषहरु निस्किएर गएको र तर ती महिला के गरिन् भन्ने थाहा नभएको वृद्धले प्रहरीलाई बताउनुभएको छ । उनीहरुले नै ती महिलाको हत्या गरि बोरामा प्याक गरेर भुस राखिएको गोठमा राखेर गएका रहेछन् ।’
ती आएका व्यक्तिहरु समेत ती वृद्धसँग अपरिचित रहेको वडाध्यक्ष चौधरीको भनाइ रहेको छ । स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
अहिले प्रहरी र स्थानीयको रोहबरमा शवलाई निकालिएको छ । भने कोशी अस्पतालमा पोष्टमार्टमका लागि लैजाने तयारी भइरहेको वडाध्यक्ष चौधरीले बताए । अहिले घटनास्थलमा प्रहरी पुगेर त्यसबारे पनि अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया