काठमाडौं । महाशिवरात्रिमा पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा पशुपति क्षेत्र आएका जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीलाई बिदाइ गरिएको छ ।
शङ्कराचार्य निश्चलानन्द सरस्वती आज बिहान काठमाडौंबाट बनारस प्रस्थान गरेको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए।
उनले तीन दिनसम्म पशुपतिक्षेत्रमा प्रवचन दिएका थिए। यसैगरी पशुपतिनाथको दर्शनमा आएका साधुसन्तको पनि आज बिदाइ गरिँदै छ । अहिले पशुपति क्षेत्रमा बिदाइको तयारी भइरहेको छ ।
महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनमा आउने साधुसन्तलाई फागुन कृष्ण एकादशीदेखि औँशीसम्म गुठी संस्थान, पशुपति क्षेत्र विकास कोषलगायत संस्थाले आवास, भोजन र धुनी बाल्ने व्यवस्था गर्ने प्राचीनकालदेखिको परम्परा छ । त्यस अनुसार आज फागुन कृष्ण औँशीका दिन बिदाइ गर्न लागिएको उनले बताए। साधु, सन्तलाई पदवी अनुसार दक्षिणा दिई बिदाइ गर्ने तयारी भएको जनाइएको छ ।
बिदाइपछि पशुपति क्षेत्रमा बस्न चाहने साधु, सन्तलाई संस्थान, कोषलगायत संस्थाले आवास, भोजन र धुनीको व्यवस्था गर्दैनन् । आजदेखि साधु सन्तले आफ्नै हिसाबले व्यवस्था गर्नुपर्ने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया