सांसद भण्डारीको दुवै खुट्टाको शल्यक्रिया सम्पन्न

लोकपथ
78
Shares

काठमाडौं । बुधबार राति खाना पकाउने ग्यास लिक भएपछि आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका नेता एवं सांसद डा.चन्द्र भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ ।

सांसद भण्डारीको आज दुवै खुट्टाको शल्यक्रिया गरिएको उपचार समन्वयमा गएका नेपाली कांग्रेसका नेता योगराज कँडेलले भण्डारीले बताएका छन् । उक्त अस्पतालका चिकित्सक डा.सुनिल केसवानी, डा.सन्दीप मिस्त्री र डा.अमुलको परामर्शअनुसार नेता भण्डारीको भेन्टिलेटरमै राखेर उपचार भइरहेको छ ।

भण्डारीक‍ो दायाँ खुट्टामा गहिरो घाउ रहेका कारण अपरेसनमा समय लागेको उपचारमा संलग्न मुख्य सर्जन डा.सुनील केसवानीलाई उद्धृत गर्दै कँडेलले बताए । उनको शल्यक्रियाका लागि करिब साढे २ घण्टा लागेको बताइएको छ । दायाँभन्दा बायाँ खुट्टाको घाउ कम रहेको चिकित्सकले जनाएका छन् ।

अहिले चिकित्सकहरूले निगरानी गरिरहेको र त्यसपछि मात्र दोस्रो अपरेसन गर्ने नगर्ने भन्ने टुंगो लाग्ने चिकित्सकले बताएको कँडेलले बताए । सांसद भण्डारीलाई बिहीबार दिउँसो नेपालमा यथोचित उपचार सम्भव नभएपछि श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टर लगिएको थियो ।

काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो । सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?