काठमाडौं । ग्यास बिस्फोटबाट घाइते कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजाने क्रममा ६ जना स्वास्थ्यकर्मीको टोली पनि सँगै जाने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ जना स्वास्थ्यकर्मी टोलीको निगरानीमा श्री एयरलाइन्सको बिमानमार्फत भण्डारीलाई मुम्बईको नेशनल बर्न सेन्टरमा उपचारका लागि लैजान लागिएको हो ।
हाल किर्तिपुर अस्पतालमा उपचाररत भण्डारीलाई चिकित्सकहरुले सबै प्रक्रिया पुर्याएर मुम्बईतर्फ प्रस्थान गर्ने तयारीमा रहेको अस्पतालका प्रमुख डा. किरण नकर्मीले लोकपथलाई जानकारी दिए ।
श्वासनलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा स्वास नलीमा पाइप राखी (इन्टुबेसन गरी) अक्सिजन दिँदै लगिने चिकित्सकले जनाएका छन् ।
भण्डारीको उपचारका लागि तीनजना चिकित्सक र तीनजना पारामेडिक्स रहेका छन् । यी सबै स्वास्थ्यकर्मीको व्यवस्थापन नर्भिक इन्टरनेशनल अस्पतालले गरेको मन्त्रालयले जनाएको छ ।
जसमा नर्भिकका क्रिटिकल केयर प्रमुख डा.प्रदिप तिवारी, एनेस्थेसिया क्रिटिकल केयर डा.वृहस्पति र फ्लाइट डाक्टर डा.रोशन शर्मा रहेका छन् । त्यसैगरी, तीन जना पारामेडिक्स ईआरमा दिनेश राई, सागर महर्जन र राज तामाङ रहेका छन् ।
किर्तिपुर अस्पतालका प्रमुख नकर्मीका अनुसार भण्डारीको ३० प्रतिशत शरीर जलेको छ । त्यसैले नेपालमा उपचार सम्भव नुहुने भएपछि मुम्बई रिफर गरिएको उनले बताए ।
बुद्धनगरस्थित घरमा ग्यास बिस्फोट हुँदा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । आमा हरिकलाको भने आज बिहान निधन भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया