सांसद भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै

लोकपथ
65
Shares

काठमाडौं । एलपीजी ग्यास सिलिण्डर विस्फोट भएर बुधबार राति घाइते भएका नेपाली कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिँदै छ ।

कांग्रेस नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत उपचारका लागि भारत लगिएको हो । भण्डारीलाई श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा उपचारका लागि लगिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उनको उपचार टिममा डा.प्रदीप तिवारी (क्रिटिकल केयर हेड), डा.बृहस्पति (एनेस्थेसिया एण्ड क्रिटिकल केयर), डा. रोशन शर्मा, (फ्लाइट डाक्टर इएमएस) सहभागी रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै दिनेश राई (प्यारामेडिक्स इआर), सागर महर्जन (प्यारामेडिक्स इआर) र राज तामाङ (प्यारामेडिक्स इआर) पनि उपचार टोलीमा रहेका छन् ।

सिलिण्डर विस्फोट घाइते भएका नेता डा.भण्डारीको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा यसअघि प्रारम्भिक उपचार गरिएको थियो । कीर्तिपुरमा उपचार सम्भव नभएपछि उनलाई मुम्बई लगिएको हो । स्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा स्वास नलीमा पाइप राखी (इन्टुबेसन गरी) अक्सिजन दिँदै लगिने चिकित्सकले जनाएका छन् ।

अस्पतालले आज विज्ञप्ति एक जारी गरी उपलब्ध साधन र स्रोतबाट उनको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न सुझाव दिएको थियो । सोही घटनामा घाइते भएकी भण्डारीकी आमा हरिकलाको भने बिहीवार निधन भएको छ । भण्डारी गुल्मी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?