नेता भण्डारीलाई श्री एयरलाइन्समार्फत उपचारका लागि मुम्बई लगिँदै

लोकपथ
0
Shares

काठमाडौं । बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिँदैछ ।

श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा उपचारका लागि केहीबेरमै लैजाने तयारी गरिएको कांग्रेसका युवा नेता मोती भण्डारीले जानकारी दिए । उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि त्यसतर्फ लैजान लागिएको हो ।

हिजो राति घाइते भएका नेता डा.भण्डारीको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । स्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा स्वास नलीमा पाइप राखी (इन्टुबेसन गरी) अक्सिजन दिँदै लगिने चिकित्सकले जनाएका छन् ।

अस्पतालले आज विज्ञप्ति जारी गरी उपलब्ध साधन र स्रोतबाट उनको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण (सिफारिस) गरेको हो । निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद डा.भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए ।

आमा हरिकलाको भने उपचारका क्रममा बिहान निधन भएको छ । नेता डा.भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?