झापामा ७ महिनामा सवारी दुर्घटनाबाट ७५ जनाको मृत्यु

लोकपथ
13
Shares

झापा । झापामा सात महिनाको अवधिमा भएका सवारी दुर्घटनामा परेर ७५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्म यहाँ चार सय ५७ सवारी दुर्घटना भएका छन् ।

उक्त दुर्घटनामा परी ७५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक अशोककुमार जवेगुले जानकारी दिए । कार्यालयका अनुसार साउनमा १२, भदौमा पाँच, असोजमा १६, कात्तिकमा नौ, मंसिरमा १४, पुसमा १२ र माघमा सात जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५७ पुरुष, १४ महिला, दुई बालक र दुई बालिका छन् । ती दुर्घटनामा एक सय सात जना गम्भीर घाइते भएका छन् भने छ सय ३९ जना सामान्य घाइते भएका कार्यालयले जनाएको छ । दुर्घटना हुने सवारीमा चार सय ३३ ओटा मोटरसाइकल,४६ टेम्पो, ५९ साना सवारी, ३२ बस, १७ ट्रक, छ ट्रिपर, १८ ट्याक्टर र ५९ ओटा जिप–कार रहेका प्रमुख जवेगुले जानकारी दिए ।

प्रहरीले चालु आवको माघ मसान्तसम्म रू दुई करोड दुई लाख छ हजार पाँच सय राजवस्व संकलन गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने २८ हजार आठ सय ओटा सवारीलाई कारबाही गरी उक्त राजस्व संकलन गरिएको हो ।

कार्यालयले चार हजार एक सय ३४ ओटा दुर्घटना न्यूनीकरण, ट्राफिक नियम पालनालगायत विभिन्न सचेतनामूलक कार्यक्रम समेत गरेको छ । उक्त कार्यक्रममा एक लाख सात हजार ४२ जनाको सहभागिता रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?