चिकित्सक संघद्वारा आन्दोलनका कार्यक्रम स्थगित, विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गरिने

लोकपथ
63
Shares

काठमाडौं । नेपाल चिकित्सक संघले चिकित्सकमाथि दुव्र्यवहार भएको भन्दै घोषणा गरेका आन्दोलनका कार्यक्रममा स्थगित गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेयको संयोजकत्वमा संघका पदाधिकारीसहितको छलफलका क्रममा आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने सहमति भएको हो ।

शुक्रबार अपरान्ह ४ः१५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा राष्ट्रिय ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा. जलिथलाल सिंह माथि प्रहरी दमन गरेको भन्दै संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।

यो सँगै चिकित्सक संघले देशभरका बहिरंग सेवा (ओपीडी) बन्द गरी आन्दोलनको घोषणा गरेका थिए । तत्पश्चात सरकारद्वारा गठित वार्ता टोलीले संघलाई सहमतिमा ल्याउन प्रयास गरेको थियो । सोहीअनुसार संघ र सरकारबीच ६ बुँदे सहमति भएको छ ।

जसमा चिकित्सकलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्ने, घटनाको सम्बन्धमा सम्बन्धित सुरक्षाकर्मीलाई निलम्बन गरी छानबिन शुरु भइ सकेकाले समग्र पक्षमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारवाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था नेपाल सरकारले गर्ने सहमति भएको छ ।

त्यस्तै, विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थपान गर्दा बिरामी एवं आमनागरिक र विशेषगरी स्वास्थ्य संस्था, विद्यालयलगायतका संवेदनशील संस्था तथा क्षेत्रहरुमा असहजता नहुनेगरी ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ मा गर्नुपर्ने परिमार्जन सम्बन्धमा नेपाल सरकारसमक्ष एक हप्ताभित्र सुझाव पेश गर्ने र सरकारले उक्त सुझावलाई यथाशिघ्र कार्यान्वयनमा लैजाने सहमति भएको संघले जनाएको छ ।

यसैगरी, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धि (संशोधनसहित) ऐन, २०६६ बमोजिम स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धि व्यवस्थालाई प्रभावकारीरुपमा कायान्वयन गर्नेलगायतका सहमति भएको छ ।

सहमति पत्रमा संघका तर्फबाट डा. लोचन कार्की र सचिव पाण्डेयले संयुक्त हस्ताक्षर गरेका छन् ।

हेर्नुहाेस् सहमति पत्र:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?