वीर अस्पताल अगाडि बिरामीका आफन्तले गरे प्रदर्शन

लोकपथ
7
Shares

काठमाडौं । चिकित्सकहरूको आन्दोलनका कारण मर्कामा परेको भन्दै वीर अस्पताल अगाडि बिरामी र उनीहरूका आफन्तले प्रदर्शन गरेका छन् । उपचार सेवा माग गर्दै उनीहरूले वीर अस्पताल अगाडिको सडकमा प्रदर्शन गरेका हुन् ।

माघ २७ गते राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको विरोधमा स्वास्थ्यकर्मीहरुले देशैभरका आकस्मिक सेवा बन्दको निर्णय गरेको थियो । अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प भएपछि त्यसको विरोधमा पीडित बिरामी र उनीहरूका आफन्तले प्रदर्शन गरेका हुन् ।

अहिले वीर अस्पताल बाहिर आन्दोलनको विरोधमा नाराबाजी भइरहेको छ । राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि प्रहरीले हातपात गरेको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको थियो ।

स्वास्थ्य मन्त्रालय घटनाप्रति दुःख व्यक्त गर्दै आन्दोलन फिर्ता लिन आग्रह गरिसकेको छ । आज नै सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सरकार र चिकित्सक संघको टोलीबीच वार्ता भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?