टीकापुर । कैलालीको टीकापुर अस्पतालबाट ११ महिनामा ४६ हिंसापीडितले उपचार सेवा लिएका छन् । लैङ्गिक हिंसालाई प्रभावकारी र दक्षतापूर्वक सम्बोधन गर्नका लागि सरकारले अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र अर्थात् ओसिएमसी कार्यक्रम सञ्चालन गरेको छ ।
अस्पतालमा गत वर्ष १९ र चालु वर्षको अहिलेसम्म २७ महिलाले उपचार सेवा लिएका छन् । अस्पतालमा उपचारमा आउनेमा बालिकादेखि ज्येष्ठ नागरिक महिलासम्म छन् । अस्पतालमा हिंसामा परेर उपचारमा आउनेमा बलात्कार तथा यौनजन्य हिंसा र कुटपिटका घटनामा परेका बढी आउने गरेका टीकापुर अस्पतालका वरिष्ठ नर्सिङ अधिकृत तथा ओसिएमसीका संयोजक कलावती तिमिल्सिनाले जानकारी दिइन् ।
‘नौ वर्षमाथिका बालिका उपचारमा आएका छन् । हिंसामा परेर उपचारमा आउनेमा अधिकांश बलात्कार तथा यौनजन्य हिंसामा परेका छन्’, उनले भनिन्, ‘त्यसबाहेक श्रीमानले पिटेर चोटपटक लागेका बढी आएका छन् । हिंसामा परेका मानसिकरूपमा समेत कमजोर भएका हुन्छन् ।’ विसं २०६९ देखि सुरु भएको सो कार्यक्रम हाल ७७ जिल्लाको ८८ अस्पतालमा विस्तार भइसकेको छ ।
ओसिएमसी कार्यक्रम लागू भएको १० वर्ष पुगेको छ । अस्पतालमा यो कार्यक्रम सञ्चालन भएपछि हिंसापीडितलाई उपचार र न्याय लिन सहज भएको स्वास्थ्यकर्मी नै बताउँछन् । टीकापुर अस्पतालमा विसं २०७८ फागुनबाट ओसिएमस सञ्चालनमा आएको हो । केन्द्र सञ्चालनमा आएपछि हिंसापीडितलाई छुट्टै राखेर उपचार गर्न सहज भएको छ ।
ओसिएमसीका संयोजक तिमिल्सिना महिला आफ्ना खुट्टामा नउभिएका वा आत्मनिर्भर नभएका कारण हिंसा सहन बाध्य भएको उनी बताउँछिन् । ‘बालिकामाथि यौनजन्य हिंसा हुनुमा समाजमा आपराधिक मानसिकता भएकाहरू छन् भन्ने बुझाउँछ’, उनी भन्छिन्, ‘१९ देखि ४९ वर्ष उमेर समूहका महिला बढी हिंसामा परिरहेको तथ्याङ्कले देखाएकाले महिला आर्थिकरूपमा सक्षम र आत्मनिर्भर नभएकाले हिंसामा परिरहेका छन् भन्ने लाग्छ ।’
ओसिएमसी भनेको अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र हो । लैङ्गिक हिंसामा परेका व्यक्ति अस्पताल आएपछि उनीहरूलाई चाहिने सबै सेवा एकद्वार प्रणालीबाट उपलब्ध गराइन्छ । उपचार तथा परामर्शसम्बन्धी अधिकांश सेवा यहाँ छ । यहाँ उपलब्ध नभएका सेवाका लागि भने अन्यत्र अस्पतालमा सिफारिस गर्नुपर्ने हुन्छ ।
टीकापुर अस्पतालले यहाँ नभएका सेवाका लागि हिंसापीडित महिलालाई धनगढी सेती अञ्चल अस्पताल पठाउने गरेको छ । ‘अस्पतालले यहाँ उपचार सम्भव नभएकालाई थप उपचारका लागि बाहिर पठाउँदा बिरामी र बिरामीका एकजना आफन्तलाई गाडी भाडासमेत उपलब्ध गराउने गरेको छ’, टीकापुर अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले भने, ‘यहाँबाट अन्यन्त्र पठाउँदा पनि सबैसँग समन्वय गरेर पठाइन्छ । जहाँ पीडितले एकै ठाउँबाट सबै सेवा पाउँछ । पीडितको सुरक्षाको ग्यारेण्टी हुन्छ ।’
अस्पतालले स्वास्थ्योपचार, मनोसामाजिक परामर्श, चिकित्सकीय कानुनी सेवा, सुरक्षा, आश्रय, कानुनी उपचार र पुनःस्थापना केन्द्र निःशुल्करूपमा उपलब्ध गराउँदै आएको छ । अस्पतालमा सञ्चालनमा रहेको ओसिएमसीमा हिंसापीडितले सेवा पाउने भएपछि प्रहरीलाई समेत सहज भएको छ । हिंसापीडितलाई उद्धार गरी उपचारमा ल्याउँदा विगतमा पीडित राख्ने ठाउँकै अभाव हुन्थ्यो ।
अस्पतालमा ओसिएमी भएपछि अनुसन्धानमा समेत सहयोग पुगिरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक सुरजबहादुर खड्का बताउँछन् । ‘हामीकहाँ दैनिक हिंसामा परेकाहरू आइरहनुहुन्छ । हिंसामा प¥यौँ भनी सेवा लिन आउने अधिकांश महिला बढी हुन्छन्’, प्रहरी निरीक्षक खड्काले भने, ‘गत वर्षबाट अस्पतालमा पीडितको उपचारलगायत अन्य सेवाका लागि ओसिएमसी सञ्चालन भएपछि हामीलाई पनि सहज भएको छ । त्यहीबाट धेरै सुविधा पाइने भएपछि हामीलाई अनुसन्धानमा सहजता हुन्छ ।’
अधिकारकर्मी योजना अधिकारीले ढिलै भए पनि टीकापुर अस्पतालमा पीडितलाई छुट्टै उपचार पाउने व्यवस्था हुँदा राहत भएको बताइन् । ‘विगतमा हिंसापीडितलाई उपचार, कानुनी परामर्शलगायतका सेवा पाउन कठिन थियो । सबै बिरामीले सेवा लिइरहेकै ठाउँमा उपचार हुन्थ्यो’, उनले भनिन्, ‘हाल छुट्टै, एकान्त र सुरक्षित ठाउँमा ओसिएमसी स्थापना गरिएको छ । त्यहाँ सबै व्यवस्था छ । यसले राहत भएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया