काठमाडौं ।भृकुटीमण्डपमा जारी नेपालकै सबैभन्दा ठूलो सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक २०२३’ मा प्रदर्शनीकर्ता कम्पनीहरुबीच आफ्ना सेवा र उत्पादनको बजारीकरण गर्ने प्रतिस्पर्धा चलेको छ ।
बिहीबार मेलाको तेस्रो दिन सकिँदा अवलोकनकर्तालाई आकर्षित गर्न कम्पनीहरुले क्यान इन्फोटेक विशेष अफर तथा स्किम ल्याउने क्रम बढेको छ ।
कम्पनी तथा ब्राण्डहरुले सेवाग्राहीलाई एकै थलोबाट आफ्ना उत्पादन एवं सेवाबारे जानकारी प्रदान गरिरहेका छन् । साथै नेपालमै उत्पादन भएका प्रविधि, नवप्रवर्तन क्षेत्रमा हासिल भएका अनुसन्धान र उपलब्धि तथा सूचना प्रविधिमैत्री स्टार्टअप व्यवसायमा अवलोकनकर्ताको चासो बढेको छ ।

विशेषगरी कृषि, पर्यटन, हस्पिटालिटी लगायतका क्षेत्रमा प्रयोग हुने प्रविधिबारे बुझ्न चाहने अवलोकनकर्ता धेरै रहेको महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । विगतका इन्फोटेकको तुलनामा यसपाली युवाहरूको क्रेज बढेको समेत उनले सुनाए ।
प्रदर्शनीस्थलमा रहेको ब्रान्डिङ कक्षमा देशविदेशका विभिन्न कम्पनी एवं ब्रान्डहरूको उपस्थिति छ । यसअन्तर्गत फिन्टेक, इन्टरनेट सेवाप्रदायक, टेलिकम सेवाप्रदायक, हार्डवेयर सेल्स तथा पावर सोलुसन्स लगायत छन् ।
क्यान इन्फोटेकको अवसर पारी विभिन्न सेवाप्रदायक तथा बिक्रेताले आफ्ना सेवा तथा वस्तुमा छुट घोषणा गरेका छन् । यसअन्तर्गत कम्पनीहरुले वस्तु खरिद तथा बुकिङमा छुट, निःशुल्क परामर्श, कोडिङ च्यालेन्ज तथा रमाइला खेल सञ्चालन गरिरहेका छन् । आयोजक क्यान महासंघले पनि फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा नियमित रुपमा विभिन्न अनलाइन कन्टेस्ट आयोजना गरी सूचना प्रविधिप्रेमी व्यक्तिहरूलाई निःशुल्क प्रवेश टिकेट र उपहारहरू प्रदान गरिरहेको छ ।
दैनिक रुपमा देखिने चिजबिजमा भन्दा अवलोकनकर्ताको रोजाइ रोबोटिक्स, स्टार्टअप कम्पनी, गेमिङ लगायतका नयाँ प्रविधिमा बढी देखिएको छ । त्यस्तै मेलामा राखिएका नेपाली स्टार्टअप र इनोभेसनबारे बुझ्न चाहने अवलोकनकर्ताको संख्या पनि उल्लेख्य छ ।
मेलामा स्टार्टअप प्याभिलियनमा २० भन्दा बढी कम्पनी सहभागी छन् । त्यस्तै इन्फोटेकमा राखिएको कलेज प्याभिलियनमा विद्यार्थीका आइडिया र परियोजना समावेश छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया