पार्किङ व्यवस्थापन जित र हारको विषय होइन : प्रमुख आचार्य

लोकपथ
39
Shares

कास्की । पोखराको मुख्य बजार क्षेत्र पृथ्वीचोक–सभागृहचोक–न्युरोड–विपीचोक–महेन्द्रपुल–नयाँ बजार हुँदै पृथ्वी चोकसम्मको सडकमा भइरहेको पार्किङ व्यवस्थापनका विषयमा सरोकारवाला निकायहरूसँग छलफल गरिएको छ ।

छलफलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सहरलाई सुन्दर बनाउने अभियानबाट पोखरा महानगरपालिका पछाडि नफर्कने स्पष्ट पारे ।

‘पोखराको मुख्य क्षेत्रबाट शुरु गरिएको पार्किङ व्यवस्थापनलाई बिस्तारै पोखराका अन्य क्षेत्रहरूमा पनि विस्तार गरिनेछ, प्रमुख आचार्यले भने, ‘सहर सुन्दर हुनै पर्छ, यो जित र हारको विषय होइन, यो त पोखराको भविष्यसँग जोडिएको विषय हो । सबैले समन्वय गरेर यसलाई कार्यान्वयन गर्नुको विकल्प छैन ।’

सडक पार्किङको विकल्पका रूपमा तोकिएको क्षेत्रमा पर्याप्त मात्रामा अन्डरग्राउन्ड पार्किङहरू रहेका र तिनीहरूमा महानगरले आवश्यक समन्वय गरिरहेको प्रमुख आचार्यले बताए । उनले यसबाहेक यी क्षेत्रमा रहेका खाली जग्गाहरूलाई समेत पार्किङका लागि व्यवस्था गरिएको बताए ।

जग्गाधनीहरूले ती जग्गामा स्थायी संरचना निर्माणका लागि नक्सा सहित आए महानगर २४ घण्टा भित्र खालि गरिदिने गरी समन्वय गरेको उनले बताए । हाल तोकिएको पार्किङ शुल्कका विषयमा सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरेर उपयुक्त शुल्क निर्धारण गरिने प्रमुख आचार्यले जानकारी दिए ।

यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख डिल्लीराज रिजालले कुवै पनि व्यवसायीले आफ्नो व्यवसाय सञ्चालनका दौरानमा आफ्ना सेवाग्राहीहरूका लागि आवश्यक पार्किङको व्यवस्था गर्न जरुरी रहेको स्मरण गराए ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले पोखराको पहिचान व्यवस्थित सहर र मर्यादित नागरिक भन्ने बनाउने हो भने सडकमा भइरहेको पार्किङलाई व्यवस्थापन गर्नुको विकल्प नभएको बताए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले महानगरले एक्कासि पार्किङ निषेधको सूचना जारी गर्दा व्यवसायीहरूमा त्रासको वातावरण सृजना भएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?