जातीय भेदभाव तथा छुवाछूत घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गर

लोकपथ
78
Shares

काठमाडौं । जातीय भेदभाव तथा छुवाछूतविरुद्ध भइरहेका घटना सम्बन्धमा समयमै प्रभावकारी अनुसन्धान हुन नसक्दा न्याय प्राप्त गर्ने अधिकारबाट पीडितहरु वञ्चित हुनुपरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

हालै रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं. ५ का गणेश दमाई (परियार) को निर्मम कुटपिटबाट मृत्यु भएको भनिएको घटना तथा जुम्लाको सिंजा गाउँपालिका वडा नं. २ घोडेङ्गका एक व्यक्तिले आफ्नो सामाजिक सञ्जालमा जातीय विभेद जनाउने विषय लेखेको घटनामा उजुरी प्राप्त भएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।

फेसबुक, युट्युबजस्ता सामाजिक सञ्जालमा दलित समुदायका व्यक्तिहरुको मानमर्दन हुनेगरी गाली, गलौज गर्ने, मानसिक तनाव दिने एवम् जातीय भेदभाव तथा छुवाछूतजन्य क्रियाकलापहरुलाई बढावा दिने खालका कार्यहरु हुने गरेको आयोगको अनुगमनबाट पाइएको विज्ञप्तिमा छ । अनुगमनबाट प्राप्त तथ्यको आधारमा आयोगले पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न पटक–पटक आह्वान गर्दै आएको आयोगले स्पष्ट पारेको छ ।

यस प्रकारका अमानवीय र आपराधिक घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन र पीडितको न्यायप्राप्तिको अधिकार सुनिश्चित गर्न आयोगले तीनै तहका सरकार एवम् सबै सरोकारवालालाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?