खानेपानीको बक्यौता असुली गर्ने तयारी

लोकपथ
39
Shares

वीरगञ्ज । नेपाल खानेपानी संस्थान वीरगञ्ज पर्साले लामो समयदेखि खानेपानीको महसुल नबुझाउने ग्राहकसँग कानुनी प्रक्रियाबाट बक्यौता असुली गर्ने भएको छ ।

पानी उपभोग गर्ने तर महसुल नबुझाउनेको संख्या बढ्दै गएपछि संस्थानले पहिलो चरणमा रू ५० हजारभन्दा बढी बक्यौता राख्ने पाँच सय ४२ जना ग्राहकको नाम कालोसूचीमा राखेर प्रकाशन गरेको छ ।

कालोसूचीमा रहेका ग्राहकले बक्यौता बुझाउन आलटाल गर्दै आएपछि संस्थानले कानुनी प्रक्रियाबाट रकम असुली गर्ने तयारी गरेको खानेपानी संस्थान वीरगञ्जले जनाएको छ । ग्राहकबाट १२ करोड २५ लाख ७९ हजार ९९ रुपैयाँ बक्यौता रकम उठाउन बाँकी रहेको संस्थानले जनाएको छ ।

एउटै ग्राहकबाट एक लाख रुपैयाँभन्दा बढी बक्यौता उठाउनुपर्ने देखिएकाले धाराको लाइन काटेर बक्यौता असुल गर्ने योजना बनाइएको खानेपानी संस्थान वीरगञ्जका प्रमुख निरण महर्जनले जानकारी दिए । खानेपानी उपभोग गरेबापत महशुल नबुझाउनेमा पूर्वमन्त्री, पूर्व न्यायाधीश, उद्योगी व्यवसायी, समाजसेवी, विभिन्न दलका नेता, कर्मचारी प्रशासकको नामसमेत रहेको संस्थानका प्रमुख महर्जनले बताए ।

महशुल नतिर्नेको नाम स्थानीय तहका वडामा टाँस गरिएको र पटक–पटक स्थानीय पत्रिकामा सार्वजनिक गर्दा समेत रकम उठाउन नसकिएको प्रमुख महर्जनको भनाइ छ । वीरगञ्ज महानगरपालिकाभित्र खानेपानी संस्थानका सात हजार ५०० ग्राहक रहेकामा छ हजारले नियमित महशुल तिरिरहेका छन् ।

उनले पुरानो बक्यौताको रकम उठाउन नसकिएको भन्दै ताकेता गर्दा पनि रकम नउठेपछि कानुनी प्रक्रिया थालिएको बताए । ‘अझै पनि रकम असुली नभए विद्यमान खानेपानी संस्थानको ऐन परिमार्जन गरेर बैंकिङ कारोबार रोक्नेगरी कानुन परिमार्जनको तयारीमा छौँ’, प्रमुख महर्जनले भने ।

अब बन्ने ऐनमा स्थानीय तहले दिने सिफारिस तथा मालपोतमा घर जग्गा रजिष्ट्रेसन पास गर्दा अनिवार्य पानीको महशुल तिरेको बिल पेस गर्नुपर्ने कानुनी प्रावधान भए मात्र पुरानो महशुल उठाउन सकिने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?