दुग्ध किसानलाई अनुदान

लोकपथ
14
Shares

हेटाैंडा । बागमती प्रदेश सरकारले दुग्ध व्यवसायमा लागेका किसानलाई अनुदान दिन रु ३० करोड बजेट विनियोजन गरेको छ । कृषि तथा पशुपछी विकास मन्त्रालयले विनियोजित सो रकम दुग्ध उत्पादक सहकारी संस्थालाई दिने र सहकारीले दुग्ध किसानलाई वितरण गर्ने जनाइएको छ ।

मासिक एक हजार पाँच सय लिटर दूध संकलन गर्ने र वार्षिक कम्तीमा २०० दिन दूधको कारोबार गर्ने दुग्ध उत्पादक सहकारीलाई दिने बागमती प्रदेशको पशुपक्षी विकास निर्देशनालयले जनाएको छ । सो अनुदानअन्तर्गत दुग्ध सहकारीमार्फत दुग्ध बिक्री गर्ने किसानलाई एक लिटरमा रु पाँच अनुदान दिइने छ ।

यसका लागि दुग्ध उत्पादन कृषि सहकारी संस्थाबाट आवेदन संकलन गरी अध्ययन भइरहेको पशुपक्षी तथा मत्स्यविकास निर्देशनालय हेटाैंडाका निर्देशक डा.व्रजकिशोर ठाकुरले जानकारी दिए । निर्देशनालयले अनुदान कार्यक्रमका लागि सहभागी हुनका लागि सूचना प्रकाशित समेत गरेको छ ।

उनले तीन जिल्लाको आवेदन प्राप्त हुन बाँकी रहेको र यसकोसमेत अध्ययन गरेर आगामी फागुन मसान्तभित्रमा सबै सहकारीलाई अनुदान रकम प्रदान गर्ने जानकारी दिए । निर्देशनाले गत आर्थिक वर्षमा दुई सय ६० दुग्ध उत्पादक सहकारीमार्फत प्रदेशभरिका दुग्ध किसानलाई रु १६ करोड अनुदान वितरण भएको थियो ।

गत वर्ष किसानले प्रतिलिटर एक रुपैयाँ ६४ पैसा अनुदान पाएको बताइएको छ । २०७६ सालदेखि किसानलाई दूधमा नगद अनुदान दिँदै आएको सो निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?