काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले स्वास्थ्य सेवा विभागको कामलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । विभागमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गिरीले कोभिड संक्रमणको जोखिमबाट बच्नका लागि बुस्टर डोजको व्यवस्था चाडैं गर्नुपर्ने बताए। उनले बुस्टर डोज ल्याउनेबारे योजना बनाउन विभागका कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।
‘छिमेकी राष्ट्रहरुमा कोभिड आइसकेको छ । हाम्रोमा पनि आउनसक्छ । बुस्टरडोज तत्काल लिएर नागरिकलाई लगाउनुपर्छ । त्यसका लागि योजना बनोस् । मन्त्रालयबाट खेल्नुपर्ने भूमिका म खेल्छु,’ उनले भने ।
उनले खरिद प्रक्रियालाई पारदर्शी बनाउन पनि निर्देशन दिए । ‘खरिद प्रक्रियालाई लिएर मिडियामा अनेक समाचार आउने गरेको छ। यसलाई पारदर्शी बनाएर काम गर्नु होला,’ उनले भने । विभागका कर्मचारीहरुलाई प्रभावकारी रूपमा काममा लाग्न उनले निर्देशन दिए । ‘विभाग जति प्रभावकारी हुन्छ । त्यतीनै जनताप्रति उत्तरदायी हुन्छ । जनताले त्यति नै राम्रो स्वास्थ्य सेवा पाउँछन्,’ उनले भने,’त्यसैले तपाईहरु अझै प्रभावकारी भएर लाग्नुस् । राम्रो काम गर्नुभएको छ । यसका लागि धन्यवाद दिन्छु । तर अब हामी कमीकमजोरी पहिल्याएर अझै जिम्मेवार भएर लाग्न आवश्यक छ ।’

उनले भने, ‘जुन-जुन शाखाको जिम्मेवारी लिएको छ । त्यो पूरा गर्ने इच्छाशक्ति हुनुपर्छ । अनि बल्ल मन्त्रालय र विभागले आफ्नो जिम्मेवारी पूरा गर्नसक्छ । त्यहीकारण जिम्मेवारी बुझेर काममा जुटिदिनुस् ।’ देशका विभिन्न अस्पतालमा रहेका पुराना स्वास्थ्य उपकरणहरु प्रयोगविहिन रहेको गुनासो आइरहेको भन्दै मन्त्री गिरीले त्यसतर्फ ध्यान दिन निर्देशन दिए । ‘उपकरणहरु यहाँबाट विभिन्न ठाउँमा पठाएका छौं । तलबाट माग भएर आएअनुसार खरिद गरिएको हुन्छ । त्यो कुन अवस्थामा छ ? कतै ती उपकरण प्रयोग नभएर डम्पिङ भएको छ र बिरामी अन्यत्रै गइरहेको अवस्था पो छ कि। नेपाली जनताले आफ्नो पसिनाको कमाइबाट तिरेको राजस्वबाट हामीले किनेका सामाग्री त्यसरी अलपत्र हुनुहुँदैन । यसतर्फ सजग रहनुस् ।’ उनले थपे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया