काठमाडौं । महानगर प्रहरीले अपांगता भएका व्यक्तिलाई काठमाडौं महानगर प्रहरीको गाडीमा राखेको तस्बिरबारे आलोचना भएपछि स्पष्टीकरण दिएको ।
सडकबाट अपांगता भएका व्यक्तिलाई महानगरले पक्राउ ग¥यो भनेर प्रकाशन भएको समाचारप्रति ध्यानाकर्षण भएको महानगर प्रहरी बलले बताएको छ ।
दोलखा घर भएका कुमार कार्की (नाम परिवर्तन) लाई सहयोग आवश्यक रहेको अवस्थामा प्रहरीले मानव सेवा आश्रममा लैजानका लागि गाडीमा राखेको जनाइएको छ।
यस क्रममा उनीमाथि कुनै पनि प्रकारको बल प्रयोग नगरिएको र उनी सडकमा चुरोट तथा गुट्खालगायतका वस्तु विक्री गरिरहेका महानगर प्रहरीले जनाएको छ।
विषयमा जानकारी दिँदै महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे भन्छन्, ‘सडकमा भएका सहयोगापेक्षीहरुलाई उद्धार गरेर हामीले मानव सेवा आश्रममा बसोबास प्रबन्ध गर्ने गरेका छौँ । स्वास्थ्योपचार गरिदिने र सम्भव भएसम्म पारिवारिक पुनमिलन गराउने काम गरिरहेका छौँ । कार्कीलाई महानगर प्रहरी बलको गाडीमा राख्नुको उद्देश्य पनि त्यही हो । यस विषयलाई मानवीयतासँग जोडेर प्रचार भएको देखियो । यस्तो प्रचार गलत हो । हामी मानवीयताको सहर बनाउने अभियानअन्तर्गत सडक सहयोगापेक्षीहरुको व्यवस्थापन गरिरहेका छौँ । कार्कीलाई गाडीमा राख्नुको कारण यही कार्यक्रमको निरन्तरता हो ।’
नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार प्रचार गरिएका व्यक्तिलाई आश्रम लैजान लाग्दा नमानेपछि हिजो साँझ बहिनी र भाञ्जाका जिम्मामा छाडिएको थियो ।
आश्रममा जान नमान्ने उनी आज पनि चुरोट, गुट्खालगायत वस्तु विक्री गर्न सडकमै निस्किएका छन् । अहिले नगर प्रहरीले उनलाई आश्रममा जानका लागि सम्झाइ बुझाइ गरिरहेको उनले बताए ।
सडकमा अनधिकृत व्यापार गर्नेलाई पक्राउ गरेपछि विवरण खडा गर्ने गरिन्छ । प्रहरी बल आन्तरिक प्रशासन तथा जरिवाना एकाइका प्रमुख नगर प्रहरी निरीक्षक राजनकुमार कार्कीका अनुसार उनको कुनै पनि विवरण खडा गरिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया