खुल्न चाहँदैनन् कुष्ठरोगी

लोकपथ
14
Shares

दमौली । नियमित औषधि सेवन गरे पूर्णरूपमा निको हुने भए पनि कुष्ठरोगी अझै पनि खुलेर बाहिर आउन सकेका छैनन् । समाजमा अपहेलित भइने डरले यस्ता रोगी निर्धक्कसँग बाहिर आउन नसकेका हुन् ।

परम्परागत मान्यता, भेदभावलगायत कारणले कुष्ठरोगीलाइ घृणा गरिने भएकाले उनीहरुलाई समाजमा खुलेर बस्ने वातावरण सिर्जना गर्नु अहिलेको मुख्य चुनौती रहेको तनहुँ स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारी बताउँछन् ।

उनी भन्छन्, ‘कुष्ठरोगीलाई समाजले हेर्ने दृष्टिकोण राम्रो छैन, जान्ने बुझ्ने मान्छेहरुबाटै कुष्ठरोगी अपहेलित भइरहेका छन् । यसप्रति सकारात्मक भाव फैलाउन आवश्यक छ ।’ कुष्ठरोगका बिरामीले आफ्नै घर नजिकैको स्वास्थ्य संस्थामा पुगेर औषधि नखाइ अन्यत्रै स्वास्थ्य संस्थाबाट औषधि सेवन गर्ने गरेको प्रमुख अधिकारीको भनाइ छ ।

‘नजिकैको अस्पतालमा गएर औषधि सेवन गर्दा अरुले चिन्लान् भन्ने भय कुष्ठरोगीमा व्याप्त छ,’ उनी भन्छन्, ‘त्यस्तो भय हटाउन स्वास्थ्य कार्यालयले पनि कुष्ठरोगका बिरामीलाई सचेतना दिने गरेको छ ।’

छ महिना वा एक वर्षसम्म नियमित औषधि खाएपछि निको हुने भएकोले कुष्ठरोगलाई ठूलो रोगको रूपमा लिन नपर्नेमा जोड दिँदै उनी खुलेर आउन नसक्ने त्यस्ता बिरामीलाई अस्पतालसम्म ल्याइपु¥याउने वातावरण सिर्जना गर्नुपर्ने र कुष्ठरोगप्रतिको भ्रम हटाउन परिवार तथा समुदायमा पनि सही जानकारी दिन प्रचारप्रसार अभियान सञ्चालन गरिएको बताउँछन् ।

यहाँस्थित स्वास्थ्य संस्थामा उपचाररत कुष्ठरोगीको तथ्यांक मात्रै कार्यालयमा आउने तर, अन्यत्र उपचार गर्नेको तथ्यांक संकलन गर्न सकिएको छैन । कतिपय त उपचार गर्नै नआउने पनि छन्, त्यस्ता व्यक्तिलाई कसरी अस्पतालसम्म लैजान सकिन्छ भन्ने मुख्य चुनौती भएको प्रमुख अधिकारी बताउँछन् ।

सात कुष्ठरोगी पहिचान

चालु आर्थिक वर्षमा जिल्लामा सात नयाँ कुष्ठरोगी पहिचान भएका छन् । व्यास नगरपालिकामा तीन, आँबुखैरेनी गाउँपालिकामा दुई, देवघाट गाउँपालिकामा एक र बन्दीपुर गाउँपालिकामा एक कुष्ठरोगी पहिचान भएका र उनीहरु सबैले नियमित औषधि सेवन गरिरहेका छन् । गत आर्थिक वर्षमा जिल्लामा १८ कुष्ठरोगी रहेकामा सबै निको भइसकेका छन् ।

जिल्लामा कुष्ठरोगको औषधि पर्याप्त रहेको र यो निःशुल्क रहेको कार्यालयले जनाएको छ । सरकारको कुष्ठरोगमुक्त नेपाल बनाउने अभियानअन्तर्गत सबै जिल्लामा कुष्ठरोगको प्रकोपदर प्रतिदश हजार जनसंख्यामा एकभन्दा कम गर्ने लक्ष्य छ । आर्थिक वर्ष २०७५/७६ मा नेपालमा तीन हजार दुई सय ८२ कुष्ठरोगका नयाँ बिरामी फेला परेकामा १४ वर्षमुनिका बिरामी तीन सय ३७ थिए ।

दमौली अस्पतालका मेडिकल अधिकृत डा.नवीन सुन्दास कुष्ठरोगबाट हुने अपांगता न्यूनीकरणका लागि सचेतनाको खाँचो रहेको र समयमै उपचार गर्न सकिए अपांगता हुनबाट बच्न सकिने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?