आफ्नै पेट्रोलियम ट्याङ्कर चलाउन पाउनुपर्ने चालकहरुको माग

लोकपथ
13
Shares

काठमाडौं । नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले चालकहरुले आफ्नै पेट्रोलियम ट्याङ्कर चलाउन पाउनुपर्ने माग राखेको छ । शुक्रबार काठमाडौंमा आयोजित नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघको दोस्रो राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा बोल्दै नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका अध्यक्ष ईश्वर लामाले चालकहरुले आफ्नै ट्याङ्कर चलाउन पाउनुपर्ने बताए ।

उनले सधैँ परनिर्भर हुनुभन्दा आफूहरुको भविष्यको लागि आत्मनिर्भर हनुपर्ने भएकाले आफ्नै ट्याङ्कर चलाउन पाउनुपर्ने आफूहरुको माग गरेको उनले बताए । उनले देशभर १ हजार ९०० जना पेट्रोलियम ढुवानी गर्ने चालकहरु रहेको उल्लेख गर्दै उनीहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।

अध्यक्ष लामाले एकपटक चालकहरुका लागि कन्ट्याक्ट नामसारी खुलाइदिन पनि माग गरे । उनले आफूहरुको माग सुनुवाई नभएमा ३० दिनभित्र ट्याङ्करको साँचो हस्तान्तरण गरेर आन्दोलनमा उत्रिने चेतावनी दिए । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले ट्याङ्कर चालकहरुको माग सम्बोधन गर्नका लागि विद्यमान ऐन, कानूनहरुमा संशोधन गर्न आवश्यक रहेको बताए ।

उनले विनियमावलीमा भएका केही व्यवस्थाहरु समेत परिमार्जन गर्नुपर्ने अवस्था रहेकाले सम्बन्धित निकायहरुले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए । उनले भने ‘यो विषयमा भएका विद्यमान ऐन, कानूनमा केही संशोधन गर्नुपर्ने अवस्था छ । विनियमावलीको केही व्यवस्था परिमार्जन गर्नुपर्ने अवस्था छ । त्यसको लागि आ–आफ्नो ठाउँबाट सबै जनाले पहल गर्नुहुनेछ भन्ने मैले अपेक्षा राखेको छु ।’

कार्यक्रममा बोल्दै काठमाडौं क्षेत्र नं. १० बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद राजन केसीले ट्याङ्कर चालकहरुको स्वरोजगार बन्न पाउनुपर्ने माग सम्बोधनका लागि निर्णय गराउन आफू लागिपर्ने बताए । उनले ट्याङ्कर चालकहरुको पेशा मर्यादित पेशा भएको भन्दै आफूमा हिनताबोध नराखी काम गर्न चालकहरुलाई आग्रह गरे ।

कार्यक्रमकाबीच नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघ र बिहार ट्याङ्कर चालक उपचालक संघका बीचमा आपसी सहयोग आदान–प्रदान गर्नेगरी ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । समझदारीपत्रमा नेपालको तर्फबाट अध्यक्ष ईश्वर लामा र बिहारको तर्फबाट अध्यक्ष चन्द्रप्रकाश सिंहले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?